ट्वान्टी २० विश्वकप ग्लोबल क्वालिफायर्स

ओमानलाई नेपालको सामान्य लक्ष्य

काठमाडौं । ब्याटिङमा पुनः एक पटक चुकेपछि ग्लोबल क्वालिफायर्सको पहिलो खेलमा नेपालले आयोजक ओमानसामु एक सय १८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल अमेरत मैदानमा टस हारेर ब्याटिङका लागि आएको नेपालले निर्धरित २० ओभरमा आठ विकेट क्षतीमा मात्र एक सय १७ रनको योगफल तयार पार्यो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८  रन जोड्दा लोकेश बमले १६ रनको योगदान गरे । त्यस्तै ज्ञानेन्द्र मल्लले १५ र दिपेन्द्रसिंह ऐरीले ११ रन जोडे । आरिफले ३७ बलमा दुई चौका प्रहार गरे । कप्तान सन्दिप लामिछानेले ७ बलमा एक चौका र एक छक्काको मद्दतमा अविजित १६ रन जोडे ।

पहिलो ओभरको अन्तिम बलमा ओपनर आसिफ शेखलाई गुमाएको नेपालले तेस्रो ओभारको चौथो बलमा अर्का ओपनर कुशल भुर्तेललाई पनि गुमायो । ३३ रन जोड्दा नेपालले ज्ञानेन्द्रलाई तेस्रो विकेटको रुपमा गुमायो । 

चार देशीय ट्वान्टी २० शृंखलामा उत्कृष्ट लयमा देखिएका दिपेन्द्रले पनि सम्हालिएको प्रदर्शन गर्न सकेनन् । उनले १८ बलमा एक चौका प्रहा गरे भने ज्ञानेन्द्रले १५ बलमा दुई चौका प्रहार गरे । 

यसअघि चारदेशीय शृंखलामा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो ।

समूह ‘बी’मा रहेको नेपालले दोस्रो खेलमा शनिबार फिलिपिन्स र सोमबार अन्तिम खेलमा क्यानडाको सामना गर्नेछ । 

ओमानका खवार अलीले तीन,विलाल खानले दुई तथा जिसन मक्सुद र फेयाज बटले समान एक विकेट लिए ।