चेल्सी

देशका लागि विश्वकप जित्ने हाभर्ट्जको इच्छा

लन्डन । चेल्सीलाई क्लब विश्वकपको उपाधि जिताउन निर्णायक गोल गरेका जर्मन फरवार्ड काई हाभर्ट्जले अबको लक्ष्य देशका लागि विश्वकप जित्ने रहेको बताएका छन् ।
                                
आइतबार अबुधाबीमा भएको ब्राजिलियन क्लब पाल्मेराससँगको खेलको अतिरिक्त समयमा उनले निर्णायक गोल गरेपछि चेल्सीले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको थियो ।

क्लब विश्व कपको उपाधिपछि २२ वर्षीय हाभर्ट्जले बाँकी प्रतियोगितामा विजेता बन्नका लागि कडा प्रतिस्पर्धा गर्ने पनि बताए । कतारमा सन् २०२२ मा हुने विश्व कपमा जर्मनीलाई उपाधि दिलाउने योजनामा छन् ।

‘म विश्व कपको विजेता बन्न चाहन्छु,’ हाभर्ट्जले भने, ‘राष्ट्रिय टोलीबाट पनि म आफ्नो क्षमता प्रमाणित गर्नुपर्नेछ ।’

‘यद्यपि अहिले चेल्सीमा नै केन्द्रित छु । हामी अझै प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप र इएफएल कपको फाइनलमा लिभरपुलविरुद्ध जित निकाल्न सक्छौं । हामीसँग ठूला लक्ष्यहरु छन्,’ उनले भने ।

सन् २०२० को सेप्टेम्बरमा चेल्सीमा अनुबन्ध हुनुअघि जर्मनी स्ट्राइकर हाभर्ट्जमाथि स्पेनिस क्लब बार्सिलोना र रियाल मड्रिडले इच्छा देखाएको थियो ।

हाभर्ट्ज बायर लेभरकुसेनबाट ७१ मिलियन पाउन्डमा चेल्सीमा अनुबन्ध भएका थिए । हाभर्ट्ज स्पेनिसन फुटबलका समर्थक हुन् ।

‘प्रिमियर लिग क्लब चेल्सी छान्नु ठीक निर्णय थियो,’ हाभर्ट्जले भने, ‘मलाई स्पेनिस फुटबल मनपर्छ तर, प्रिमियर लिगको क्लबले मलाई बनाउन धेरै सहयोग गरेको छ ।’

हाभर्ट्जले क्लबमा राम्रो खेल प्रदर्शन गरे त्यसको बदलामा विश्वास पाउनेमा विश्वस्त भएको बताए ।