सहिद स्मारक ‘ए’ डिभिजन लिग

बिबिसी र च्यासलले अंक बाँडे, फ्रेन्डस् हारको संघारबाट जोगियो

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मंगलबार रेलिगेशनबाट जोगिन संघर्षरत बिग्रेड ब्वाइज क्लब (बिबिसी) र च्यासल युथ क्लबले गोलहित बराबरी खेलेका छन् ।

११ खेलमा सात अंक जोडेको बिबिसी १३ स्थानमा यथावत छ भने च्यासल समान खेलमा ६ अंकसहित १४औं स्थानमा छ । 

जितसहित रेलिगेशन क्षेत्रबाट माथि उठ्ने लक्ष्य लिएका बिबिसी र च्यासलको लक्ष्यले पूर्णता पाएन । 

फ्रेन्डस् क्लब पनि समान ११ खेलमा समान ७ अंकसहित १३औं स्थानमा छ भने जावलाखेल युथ क्लब ११ अंकसहित ११औं स्थानमा यथावत छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  एघारौं चरणको खेलमा च्यासलका राजिव लोप्चन र विकास मेराग्लिया तथा बिबिसीका भुवन बस्नेत गोल गर्नबाट चुकेका थिए ।

१०औं मिनेटमा शिशिर लेखीको फ्रिकिकमा भुवनले गरेको हेडिङ दोस्रो बारबाट बाहिरिएको थियो । यस्तै विदेशी खेलाडी रुडि जोनाथानको पासमा बक्सभित्र बल नियन्त्रण गर्न नसक्दा बिबिसी गोलबाट टाढियो ।

२०औं मिनेटमा च्यासलका कमल श्रेष्ठको कर्नरमा बक्स भित्रबाट राजिव हेड गर्नबाट चुके । ३२औं मिनेटमा राजिवको पासमा विकास बक्स भित्र चिप्लिदा गोल गर्न असफल भए ।

यस्तै मंगलबारै सातदोबाटोस्थित एन्फा मुख्यालयमा जावलाखेल युथ क्लब र  फ्रेन्ड्स क्लबले ३-३ को बराबरी खेले ।