स्पेनिस ला लिगा

बेलले यस सिजनको अन्त्यपछि सान्टियागो बर्नाबेउ छोड्दै

मड्रिड । रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले गारेथ बेलले यस सिजनको अन्त्यपछि क्लब छोड्ने पुष्टी गरेका छन् ।

३२ वर्षे वेल्सका कप्तान बेल र रियालको सम्झौता यसै सिजनको अन्त्यपछि सकिदैछ । 

बेल गत सिजन इङ्लिस प्रिमियर लिग क्लब टोटनहममा लोनमा गएका थिए । यस सिजन बेलले स्पेनिस ला लिगामा चार खेलमा सुरुआती रोजाईबाट खेलेका छन् ।

एन्सेलोट्टीले शनिबार ला लिगामा भियारियालसँग गोलरहित बराबरी खेलेको खेलमा बेललाई पहिलो रोजाईमा मैदान उतारेका थिए । तर च्याम्पियन्स लिग अन्तर्गत म‌गलबार पेरिस सेन्ट जर्मन (पिएसजी)विरुद्धको अन्तिम १६ को खेलमा भने उनले बेललाई टोली बाहिर राख्ने बताए ।

‘बेलमात्र होइन टोलीका सबै खेलाडीसँग मेरो राम्रो सम्बन्ध छ,’ एन्सेलोट्टीले भने, ‘उनले हामीले दिएको जिम्मेवारी पूरा गर्दै आएका छन् । उनको प्रदर्शन भने खस्कदै गएको छ । तर उनी स्वभाविक लयमा बस्दै सान्टियागो बर्नाबेउको यात्रा अन्त्य गर्न चाहन्छन् । ’

‘क्लबले च्याम्पियन्स लिग, कोपा डेल रेका साथै ला लिगाको उपाधि जित्दा बेलको भुमिका महत्वपूर्ण रहेको थियो,’एन्सेलोट्टीले थपे ।