टेनिस

जुनसुकै मुल्य चुकाउनु परे पनि कोभिड १९ संक्रमणविरुद्धको खोप लगाउँदिनः जोकोभिच

पेरिस । विश्व नम्बर एक नोभाक जोकोभिचले कोभिड १९ संक्रमणविरुद्धको खोप नलगाएकै कारण आफूलाई अन्य टेनिस प्रतियोगिता खेल्नमा रोक लगाए पनि कुनै गुनसो नहुने प्रतिक्रिया दिएका छन् ।

बिबिसीसँगको अन्तरवार्ताका क्रममा जोकोभिचले कोभिड १९ संक्रमणविरुद्धको खोप अभियानको विपक्षमा नरहे पनि आफूले खोप लगाउन्न भन्न पाउने व्यक्तिगत स्वतन्त्रता रहेको बताए ।

खोप नलगाएकै कारण विम्बल्डन र फ्रेन्च ओपन खेल्नबाट पनि बञ्चित हुनु भयो भने के गर्नु हुन्छ भन्ने प्रश्नमा जोकोभिचले आफू ती प्रतियोगिताहरु त्याग्न तयार रहेको बताए । उनले कसैले दबाब दिँदैमा खोप नलगाउने बताए ।

‘म अझै पनि कोभिड १९ संक्रमणविरुद्धको खोप लगाउदिन र त्यसका लागि जुनसुकै मुल्य पनि चुकाउन तयार छु’,जोकोभिचले भने ।

२० पटकका ग्रान्ड स्लाम बिजेता जोकोभिचले कोभिड १९ संक्रमणविरुद्धको खोप नलगाएकै कारण वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपन गुमाउनु परेको थियो ।