सहिद स्मारक ‘ए’ डिभिजन लिग

एनआरटी हिमालयन शेर्पासँग बराबरीमा रोकियो

काठमाडौं । न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पाले आइतबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो खेलमा दुवै टोलीले गोलका केही अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेनन् ।

यद्धपी एनआरटीको तुलनामा हिमालयन शेर्पाले गोलका अवसर धेरै सिर्जना गरे पनि फिनिसिङमा भने चुकेको थियो ।

एनआरटी १० खेलमा १४ अंक सहित सातौ स्थानमा यथावत छ । हिमालयन शेर्पा समान खेलबाट १२ अंक सहित आठाैं स्थानमा छ ।

जारी लिगमा १० खेलबाट २६ अंक बनाएको मछिन्द क्लब शीर्ष स्थानमा छ । समान खेलमा दोस्रो स्थानको मनाङको २० अंक छ । 

आइतबार हुने १०औं चरणको अन्तिम खेलमा एपिएफ र संकटा क्लब आमने सामने हुँदैछ ।