आहा रारा गोल्डकप

एपिएफलाई पहिलो पटक आहा राराको उपाधि

पोखरा । ६ पटकको च्याम्पियन मनाङ मर्स्याङदी क्लबलाई पेनाल्टी सुट आउटमा ५–४ ले हराउँदै सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबले २०औं संस्करणको आहा रारा गोल्डकपको उपाधि जितेको छ । एपिएफले पहिलो पटक आहा राराको उपाधि जितेको हो ।

शनिबार पोखरा रंगशालामा सम्पन्न खेलको निर्धारित र अतिरिक्त ३० मिनेट २–२ को बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटबाट विजेताको टुङ्गो लागेको हो ।

मनाङका फ्रयांङक्लिन खेटे, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गर्र्दा पाँचौ नम्बरमा प्रहारका लागि आएका अफिज ओलावालेले बललाई जाली चुमाउन सकेनन् । 

एपिएफका नविन लामा, सनिश श्रेष्ठ, रवि थिङ्ग, मणी लामा, आरमन्ड विडङले पेनाल्टीमा कुनै गल्ति गरेनन् ।

यसअघि युवराज खड्काले २०औं मिनेटमा गरेको गोलबाट एपिएफले अग्रता बनाएको थियो । तर, ६७औं मिनेटमा दयानन्द सिंहले गरेको गोलबाट मनाङ खेलमा फर्किएको थियो । ८३औं मिनेटमा फ्रयांक्लिन खेटेले गोल गरेपछि मनाङले २ १ को अग्रता बनाएको थियो । यद्यपि, इन्जुरी समयमा रवि थिङ्गले गोल गर्दै एपिएफलाई बराबरीमा फर्काएका थिए ।

एपिएफ यसअघि २०६४ सालमा प्रतियोगिताको फाइनलमा पुगेको थियो ।