इङ्लिस प्रिमियर लिग

अझै केही वर्ष सक्रिय खेलजीवनमा रहने इच्छा छः रोनाल्डो

लन्डन । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफूले अझै केही वर्ष सक्रिय खेलजीवनमा रहने इच्छा व्यक्त गरेका छन् ।

रोनाल्डो आगामी महिना ३७ वर्ष पुग्दैछन् । इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडका स्ट्राइकर रोनाल्डोले सोमबार ज्युरिचमा ‘फिफा स्पेशल अर्वाड’ जितेका थिए ।

रोनाल्डोले गत  सेप्टेम्बरमा इरानका अली दाइको नाममा रहेको एक सय नौ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान तोडेका थिए । रोनाल्डोको नाममा एक सय १५ अन्तर्राष्ट्रिय गोल रहेको छ ।

अर्वाड कार्यक्रममा रोनोल्डोले बाल्यकालयमा आफूमा भएको फुटबलप्रति लगाव अहिले पनि त्यति नै रहेको बताएका छन् ।

‘अझैपनि फुटबलप्रति उत्तिकै लगाव छ । गोल गर्नको लागि मात्र हैन,’ रोनाल्डोले भने, ‘यो खेल मलाई रमाइलो लाग्छ किनकि म पाँच, ६ वर्षको हुँदा देखि फुटबल खेल्थें ', ‘खेलमा होस् वा प्रशिक्षणको बेला, मैदान हुँदा रमाइलो लाग्छ । म ३७ वर्ष हुन लागेको छु, मलाई राम्रो र उत्साहित महसुस भएको छ । १८ वर्ष हुँदा देखि कडा मेहेनत गरेको थिए र त्यसलाई निरन्तरता दिइरहेको छु । मसँग अझै जोश छ र यसलाई निरन्तरता दिन चाहन्छु ।’

यसै सिजन इटाली क्लब युभेन्ट्सबाट रोनाल्डो ओल्ड ट्राफोर्डमा फर्किएका थिए ।  जारी सिजन रोनाल्डोले युनाइडेडबाट सबै खाले प्रतियोगिता गरि २२ खेलमा १४ गोल गरिसकेका छन् ।