सहिद स्मारक ‘ए’ डिभिजन लिग

थ्री स्टार पाँचौ स्थानमा उक्लियो

काठमाडौं । हिमालयन शेर्पा क्लबमाथि २-० को जितसहित थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा हिमालयन शेर्पाका रक्षक अमृत श्रेष्ठको आत्मघाती गोल थ्री स्टारले अग्रता लियो ।

५७औं मिनेटमा थ्री स्टारका ऋतिक कुमार खड्काको प्रहार क्लियर गर्ने क्रममा अमृतको प्रहार आफ्नै गोलपोस्टको दिशा लिएको थियो ।

इन्जुरी समयमा घनिफो अंशुमानाले गोल गर्दै थ्री स्टारको अग्रता दोब्बर पारेका थिए ।

थ्री स्टार आठ खेलमा १३ अंकसहित पाँचौ स्थानमा उक्लिदा समान खेलमा ११ अंक बटुलेको हिमालयन शेर्पा छैटौं स्थानमा झरेको छ । 

तेस्रो चरणबाट लगातार चार खेल बराबरी खेलेको थ्री स्टार सातौ चरणमा जावालाखेल युथ क्लबमाथिको जितसहित लयमा फर्किएको थियो । थ्री स्टारको यो लगातार दोस्रो जित हो ।

पछिल्लो तीन खेलमा शतप्रतिशत नतिजा ल्याएको हिमालयन शेर्पा चौथो खेलमा भने पराजित भयो ।

७३औं मिनेटमा हिमालयन शेर्पाले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन । हिमालयनका मुतम्बा पिस्टोनीले गरेको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले सहजै नियन्त्रणमा लिएका थिए  ।

८३औं मिनेटमा हिमालयनका विजय श्रेष्ठको पासमा जीवन गुरुङको प्रहार प्रिसोले विफल पारेका थिए ।

यसअघि १९औं मिनेटमा निशान खड्कको क्रसमा आयुस घलानको हेड गोलपोस्ट नजिकैबाट बाहिरिदा थ्री स्टारले अग्रता लिने अवसर गुमायो ।

३०औं मिनेटमा हेमन्त थापा मगरको कर्नरमा मिडफिल्डर राफेल रिमले गरेको हेडर क्रसबारमा लागेर फकिएको थियो ।

त्यसको पाँच मिनेटपछि संजोक राईको पासमा घनिफो अंशुमाना कोम्हको प्रहार गोलपोस्ट माथिबाट बाहिरिएको थियो ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा पूर्णबहादुर गुरुङको प्रहार क्रसबारमा लागेर फर्कदा हिमालयन शेर्पाले खेलमा अघि बढ्ने अवसर खेर फालेको थियो ।