केइरन ट्रिपियर

ट्रिपियर न्युक्यासल जाने निश्चित

काठमाडौं । एथ्लेटिको मड्रिडका इङ्लिस डिफेन्डर केइरन ट्रिपियर न्युक्यासल जाने निश्चित भएको छ । एथ्लेटिकोले १ करोड २० लाख पाउन्डभन्दा बढीको अफर स्वीकारेसँगै ३१ वर्षे डिफेन्डर प्रिमियर लिगमा फर्किने निश्चत भएको हो ।

सन् २०१९ मा इङ्लिस क्लब टोटेनह्यामबाट २ करोड पाउन्डमा ट्रिपियर स्पेनिस क्लब एथ्लेटिको गएका थिए । तर, प्रिमियर लिगमा फर्किने निश्चित भएसँगै उनी फेरि प्रशिक्षक एडी होवेसँगै हुने भएका छन् ।

होवेले ट्रिपियरलाई बर्न्लीमा अनुबन्ध गरेका थिए । युरो २०२० मा उपविजेता बनेको इङ्लिस टोलीका सदस्यसमेत रहेका ट्रिपियरले एथ्लेटिकोबाट ८३ खेल खेल्दै गत वर्ष ला लिगा जितेका थिए ।

जारी सिजन प्रिमियर लिगमा एउटा मात्रै खेल जितेको न्युक्यासल रेलिगेसन जोनमा छ । शनिबार एफए कपको तेस्रो चरणमा न्युक्यासलले घरेलु मैदानमा क्यामब्रिज युनाइटेडको सामना गर्नेछ ।