क्रिस्टियन एरिक्सन

कतार विश्वकप खेल्ने एरिक्सनको इच्छा

लन्डन । डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सनले मंगलबार आफ्नो लक्ष्य कतार विश्वकप खेल्नु भएको बताएका छन् । एरिक्सनले केही टोलीले इच्छा देखाएको कारण आफू इङ्लिस प्रिमियर लिगमा फर्किन सक्ने समेत खुलाए ।

२९ वर्षीय एरिक्सनले पछिल्लो वर्ष सम्पन्न युरोपियन च्याम्पियनसिपमा फिनल्यान्डविरुद्ध ह्रदयघातका कारण मैदानमै लडेयता कुनै पनि खेल खेलेका छैनन् ।

‘डेफिब्रिलेटर’ लगाएकाले इटालीमा फुटबल खेल्न नपाउने भएपछि इन्टर मिलानले एरिक्सनसँगको सम्झौता नवीकरण गरेको थिएन ।

‘मेरो लक्ष्य कतार विश्वकप खेल्ने हो । यो मेरो मनमा रहेको कुरा हो । यद्यपि म छनोट हुन्छु वा हुन्न त्यो छुट्टै कुरा हो,’ एरिक्सनले भने, ‘ तर राष्ट्रिय टोलीमा फर्कनु मेरो सपना हो । त्यसअघि मैले मैदानबाटै म  पुरानै अवस्थामा फर्किसकेको प्रमाणित गर्नुछ ।

आफ्नो भविष्यको बारे एरिक्सन निकै विश्वस्त देखिए ।

‘डाक्टरहरुले हाल अवस्था स्थिर र सामान्य छ भनेका छन् । त्यसैले यसबाट म फेरि फुटबल खेल्न सक्छु भन्नेमा निर्धक्क भएको छु,’ एरिक्सनले भने ।