टेस्ट

न्युजिल्यान्डविरुद्ध बंगलादेशको नाटकीय जित

वेलिङटन । बंगलादेशले बुधबार न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट शृंखलाामा आठ विकेटको सनसनीपूर्ण जित हात पारेको छ । 

बंगलादेशले न्युजिल्यान्डलाई टेस्ट क्रिकेट इतिहासमा पराजित गरेको यो पहिलो पटक हो ।

न्युजिल्यान्डको दोस्रो इनिङ मात्र एक सय ६९ रनमा सीमित भएपछि जितका लागि ४० रनको लक्ष्य बंगलादेशले दुर्ई विकेटको क्षतीमा पूरा गरेको थियो ।

बंगलादेशका लागि ओपनर नाजमुल हुसैन सान्तोले १७ र कप्तान मोमिनुल हकले १३ रन जोडे ।

न्युजिल्यान्डका टिम साउथी र काइल जेमिसनले समान एक विकेट लिए ।

यसअघि १४७-५ बाट पाँचौ दिनको खेल सुरु गरेको न्युजिल्यान्डले थप २२ रन जोड्दा बाँकी पाँच विकेट गुमायो ।

दोस्रो इनिङमा न्युजिल्यान्डका विल योङले ६९ र रस टेलरले ४० रन जोडे । 

न्युजिल्यान्डलाई दोस्रो इनिङमा सस्तोमा सीमित पार्ने क्रममा बंगलादेशका इबादत हुसैनले ५६ रन खर्चदै ६ विकेट लिए ।

न्युजिल्यान्डले पहिलो इनिङमा ३ सय २८ रनको योगफल बनाएको थियो भने बंगलादेशले ४ सय ५८ रन जोड्दै एक सय ३० रनको अग्रता लिएको थियो ।

न्युजिल्यान्ड सन् २०११ पछि एसियाली राष्ट्रसँग टेस्ट खेलमा पराजित भएको यो पहिलो पटक हो । पाकिस्तानले सन् २०११ जनवरीमा ह्यामिल्टनमा न्युजिल्यान्डलाई नौ विकेटले हराएको थियो ।