फ्रेन्च लिग वान

मोनाकोका प्रशिक्षक कोभाच बर्खास्त

पेरिस । फ्रेन्च लिग वान क्लब मोनाकोले शनिबार मुख्य प्रशिक्षक निको कोभाचलाई बर्खास्त गरेको छ ।

मोनाकोले कोभाचलाई मुख्य प्रशिक्षकको जिम्मेबारी सुम्पिएको १८ महिनापछि बर्खास्त गरेको हो । जर्मन बुन्डेस लिगा क्लब बायर्न म्युनिखका पूर्व प्रशिक्षक कोभाच सन् २०२० को जुलाईमा फ्रेन्च क्लबको प्रशिक्षकमा नियुक्त भएका थिए ।

च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा सख्तर डोनेस्कसँग पराजित भएको मोनाको फ्रेन्च लिग तालिकाको छैटौं स्थानमा छ ।

वर्षको अन्तिम चार खेलमा तीन जित हात पारेर लयमा फर्किदै गरे पनि क्लबले प्रशिक्षक कोभाचलाई जिम्मेवारी मुक्त गरेको पुष्टि गरेको हो ।

‘मोनाको प्रशिक्षक कोभाचलाई जिम्मेवारी मुक्त गर्ने निर्णय गरेको छ । क्रोएसियाली प्रशिक्षकलाई यसबारे बिहीबार जानकारी दिइएको थियो,’ मोनाकोले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

कोभाचको बर्खास्तीसँगै टोलीको अन्तरिम जिम्मेवारी स्टेफाने नाडोले पाएका छन् ।