क्यान

सोमबारबाट मात्र प्रशिक्षण सुरु गर्ने क्यानको तयारी

काठमाडौ । नेपाल क्रिकेट संघ (क्पान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सोमबारबाट मात्र सुरु गर्ने तयारी गरेको छ ।

मुख्य प्रशिक्षक पुबुदु दयानायकेले बिहीबार सन्दिप लामिछानेको कप्तानीमा ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए । टोलीमा क्यानको अनुशासनको कारवाहीमा परेका तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई समेत समावेश गरिएको थियो ।

टोलीलाई शनिबार सम्म होटल रिपोर्टिङ गर्न भनिएको थियो भने आइतबारबाट प्रशिक्षण सुरु हुने बताइएको थियो ।

तर शनिबारसम्म ११ जना मात्र आइपुगेको क्यानका कार्यवहाक सचिव प्रशान्तविक्रम मल्लले  बताए । 

‘३० जना माध्ये ११ जनाले मात्र होटल रिपोर्टिङ गर्नु भएको छ’, मल्लले  भने, ‘उपत्यका बाहिरबाट आउने ६ जना खेलाडीको उडान प्रभावित भएपछि गाडीबाट काठमाडौैं आउन लागेको भन्ने जानकारी आएको छ । आज दिउँसो सम्म उहाँहरु पनि आउनुहुन्छ होला । आज उपलब्ध खेलाडीहरुलाई राखेर ओरियन्टेसन क्लास मात्र हुन्छ । साझ सम्म अन्य खेलाडीहरु पनि आउनु हुन्छ भन्ने आशा छ । प्रशिक्षण नियमित रुपमा संचालन हुन्छ ।'

कारवाहीमा परेका चार खेलाडीको समर्थनमा अन्य केही खेलाडीले समेत प्रशिक्षण बहिस्कार गर्ने खबर सार्वजनिक भएको थियो ।

क्यान बोर्ड बैठकले गत महिना सम्झौताविपरित संघविरुद्ध मिडियाबाजी गरेको भन्दै ज्ञानेन्द्रको कप्तानी र दिपेन्द्रको उपकप्तानी खोसेको थियो । साथै बैठकले  ज्ञानेन्द्र, दिपेन्द्र,सोमपाल र कमल गरि चार खेलाडीलाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाक्टको सुरुआती ६ महिना समावेश नगर्ने निर्णय समेत गरेको थियो ।