फिफा

दुई वर्षमा विश्वकप गर्ने प्रस्तावको विपक्षमा एम्बाप्पे र लेवान्डोस्की

दुबई । किलियान एम्बाप्पे र रोबर्ट लेवान्डोस्की प्रत्येक दुई वर्षमा विश्वकप गर्ने प्रस्तावको विपक्षमा उभिएका छन् ।

खेलाडीहरूले आवश्यकता अनुसार आराम नपाउने भएकाले उनीहरू यो प्रस्तावको विपक्षमा उभिएका हुन् । फिफाले चार वर्षको अन्तराल घटाएर प्रत्येक दुई वर्षमा विश्वकप आयोजनाको प्रस्ताव गरेको थियो । यद्यपि, फिफाको उक्त प्रस्तावप्रति धेरैले नकारात्मक धारणा सार्वजनिक भइरहेका छन् ।

पेरिस सेन्ट जर्मनका फरवार्ड एम्बाप्पे र बायर्न म्युनिखका स्ट्राइकर लेवान्डोस्की दुवैले विश्वकपको रौनक घट्नुका साथै खेलाडीका स्वास्थ्यमा पनि प्रभाव पर्ने जिकिर गरेका छन् ।

‘हामी खेल्न चाहन्छौं, तर त्यो धरै नै हुन्छ,’ एम्बाप्पेले भने, ‘यदि स्तरिय खेल हेर्न चाहन्छन् भने पर्याप्त आराम पनि आवश्यक हुन्छ ।’ 

लेवान्डोस्कीले पनि एम्बाप्पेको कुरामा सहमति जनाउँदै अहिले नै व्यस्त सेड्युल भएको र विश्वकप अझै थपिए झनै खेलाडी र दर्शकका लागि जटिल हुने बताए ।