इङ्लिस प्रिमियर लिग

खेलाडी हितका लागि आन्दोलन गर्न ग्वार्डिओलाको आह्वान

म्यानचेस्टर । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले खेलाडी हितको संरक्षणका लागि प्रशासनलाई गम्भीर बनाउन खेलाडी तथा प्रशिक्षकहरुले आन्दोलन गर्ने विषयमा सोच्नुपर्ने बताएका छन् ।

कोभिड १९ महामारीका कारण इङ्लिस प्रिमियर लिगका थुप्रै खेलहरु स्थगित गरिएका छन् । जसका कारण क्लबहरुले क्रिस्मस तथा नयाँ वर्षको हप्तामा तीन खेल खेल्नुपर्ने भएको छ ।

खेलाडी तथा प्रशिक्षकलाई हुने अत्याधिक खेलको बोझ घटाउन दबाबस्वरुप आन्दोलन गर्नुपर्ने म्यानचेस्टर सिटीका प्रशिक्षकको तर्क छ ।

‘हामी खेलाडी र प्रशिक्षक एक ठाउँमा उभिएर यसका विरुद्ध आन्दोलन गर्न सक्दैनौं,’ ग्वार्डिओलाले पत्रकार सम्मेलनमा प्रश्न गरे, ‘हामीले बोलेको भरमा यो समस्या समाधान हुने मैले देखेको छैन । फिफा, प्रिमियर लिग र खेल प्रशारणकर्ताहरुले खेलाडीको हितभन्दा व्यापारलाई बढि महत्व दिन्छन् ।’

कोभिड १९ को महामारीपछि विश्वका अधिकांस स्थानमा प्रत्येक खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाउने भए पनि प्रिमियर लिगमा तीन खेलाडीमात्र परिवर्तन गर्न पाउने व्यवस्थाविरुद्ध पनि ग्वार्डिओलाले असन्तुष्टि जनाए । प्रिमियर लिगमा तीन मात्र खेलाडी परिवर्तन गर्न पाउने व्यवस्थामा पुर्नविचार नगर्नुले खेलाडीको हितप्रति प्रशासन उदासिन रहेको देखाउने उतको तर्क थियो ।

‘यहाँ सबैले आफ्ना लागि निर्णय गर्छन भने हामीले चाँही किन नगर्ने,’ उनले थपे, ‘हामी निरन्तर खेलिरहन चाहन्छौं । आन्दोलन हाम्रो रोजाई होइन । तर त्यसलाई बाध्यता बनाइँदैछ ।’

विश्वकप र युरोपियन कपका खेलहरु हुँदा हुँदै काराबाओ कपको सेमिफाइनल पनि दुई लेगको गराउने निर्णयको विरुद्ध ग्वार्डिओलाले आवाज उठाउँदै आएका थिए । ग्वार्डिओलाले एफए कप र प्रिमियर लिग तथा च्याम्पियन्स लिगसमेत गर्दा खेलको संख्या असीमित रुपमा थपिँदै गएको र आरामको समय कम हुँदै गएकोमा आपत्ति जनाए ।

‘खेलाडीलाई खेलसँगै आरामको पनि आवस्यकता पर्छ । व्यस्त सिजनको आधा समय बिताएपछि दुई वा तीन हप्ताको आराम नभए खेलाडीले सिजनको दोस्रो हाफमा धेरै समस्या भोग्नुपर्छ । यो खेलाडीको हितको विषय हो । आराम दिनुलाई प्रशासनले समस्याको रुपमा लिनु हुँदैन,’ उनले थपे ।