पेले

पेले अस्पतालबाट डिस्चार्ज

फ्रान्सेली युवा स्टार किलियन एमबाप्पेसँग विश्व फुटबलका महान हस्ती पेले । तस्बिर : एजेन्सी

साओ पाउलो । ब्राजिली फुटबलका महान हस्ती पेले अस्पतालबाट डिस्चार्ज भए पनि उनको पेटको ट्युमरको उपचार भने जारी राख्नुपर्ने भएको छ ।

तीन पटकका विश्वकप विजेता स्टार पेलेको पेटमा रहेको ट्युमर झिक्न सेप्टेम्बरमा शल्यक्रिया गर्नुपरेको थियो । त्यसपछि पनि उनले नियमित रुपमा किमोथेरापी गराइरहेका थिए ।

ट्युमरको समस्याले दुःख दिएपछि उनलाई डिसेम्बर आठमा साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पताल भर्ना गरिएको थियो । त्यतिबेला उनको अवस्था स्थिर रहेको बताइएको थियो ।

अस्पताल भर्ना भएपछि पनि केही दिनसम्म अवस्था चिन्ताजनक रहेको बताइएका पेलेको अवस्थामा पर्याप्त सुधार आएपछि उनलाई बिहीबार डिस्चार्ज गरिएको थियो ।

उपचारमा संलग्न चिकित्सकहरुले पेलेको अवस्था चिन्ता गर्नु नपर्ने रहेको बताएका छन् । तर उनको पेटको ट्युमर पलाइरहने भएकाले त्यसको उपचारलाई भने निरन्तरता दिनुपर्ने बताइएको छ ।