इटालियन सिरी ए

अंकदुरी घटाउँदै युभेन्टस

मिलान । फेडरिको बेर्नारडेस्चीको उत्कृष्ट प्रदर्शनमा युभेन्टसले मंगलबार इटालियन सिरी ‘ए’ मा काग्लियारीलाई २-० ले पराजित गर्दै चौथो स्थानको टोलीसँगको दुरी चार अंकमा झारेको छ ।

सिरी ‘ए’ मा युभेन्टस पछिल्लो पाँच खेलमा अपराजित छ ।

४०औं मिनेटमा मोइस केनको गोलमा युभेन्टसले अग्रता लिएको थियो । केनले बेर्नारडेस्चीको पासलाई पोस्टको दिशा दिएका थिए । खेल सकिन सात मिनेट बाँकी रहँदा बेर्नारडेस्चीले युभेन्टसको अग्रता दोब्बर पारे । 

युभेन्टस १९ खेलबाट ३४ अंकसहित पाँचौ स्थानमा छ । जुन समान खेल खेल्दै चौथो स्थानमा बसेको एट्लान्टा भन्दा मात्र चार अंक कम हो ।

इन्टर मिलान ४३ का साथ शीर्ष स्थानमा छ भने नेपोली र एसी मिलान समान ३९ अंक जोड्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।