सहिद स्मारक ए डिभिजन लिग

एपिएफलाई पहिलो अंक

काठमाडौं । थ्री स्टार क्लबलाई गोलरहित बराबरीमा रोक्दै एपिएफले जारी सहिद स्मारक ए डिभिजन लिगमा अंक खाता खोलेको छ ।

एपिएफले चौथो खेलमा अंक खाता खोलेको हो । पहिलो खेलम ब्रिगेड ब्वाइज क्लबसँग इन्जुरी समयमा सम्हालिन नसक्दा ३-२ ले निराश भएको एपिएफ दोस्रो खेलमा भने च्यासल युथ क्लबसँग १-० र तेस्रो खेलमा सातदोबाटो युथ क्लबसँग ४-१ ले पराजित भएको थियो ।

चार खेलमा एक अंक जोडेको एपिएफ १३ औं स्थानमा उक्लिएको हो । चार खेलमा पाँच अंक जोडेको थ्री स्टार भने सातौ स्थानमा छ । 

थ्री स्टारले च्यासलमाथि जितका साथ लिगमा उत्कृष्ट सुरुआत गरेपनि पछिल्लो तीन खेलमा सुखद नतिजा ल्याएको छैन । थ्री स्टार दोस्रो खेलमा सातदोबाटोसँग स्तब्ध भएको थियो भने तेस्रो खेलमा फ्रेन्डस क्लबसँग अंक बाँडेको थियो 

११औं मिनेटमा आभास लामिछानेको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाएपछि एपिएफले अग्रता लिने अवसर गुमाएको थियो ।
२९औं मिनेटमा   मिडफिल्डर हेमन्त थापामगरको फ्रिकिकमा राफइल रिमको हेडर बाहिरिँदा थ्री स्टारले अग्रता लिने अवसर खेर फाल्यो ।

त्यसको एक मिनेटपछि नै एपिएफका आशिष लामाको फ्रिकिक थ्री स्टारका गोलकिपर प्रिसोले मुस्किलले जोगाएका थिए ।

४२औं मिनेटमा हेमन्तको कर्नर अन्तत तमाङको हेडरले पोस्टको दिशा लिन सकेन । 

पहिलो हाफको तुलनामा दोस्रो हाफमा एपिएफले थ्री स्टारलाई दबाबमा राखेको थियो । 

४९औं मिनेटमा कप्तान नविन लामाको फ्रिककमा आशिषले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा एपिएफले अग्रता लिने अवसर गुमाएको थियो ।

८० औं मिनेटमा एपिएफ प्रदिप लामाको पासमा आशिषले गरेको हेडर बाहिरिएको थियो ।