सहिद स्मारक ‘ए’ डिभिजन लिग

सहज जितसहित मच्छिन्द्र शीर्ष स्थानमा

काठमाडौं । हिमालयन शेर्पा क्लबलाई हराउँदेै साविक विजेता मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न दोस्रो खेलमा मच्छिन्द्रले हिमालयनलाई ३–० ले हराएको हो ।

चार खेलमा १० अंक जोडेको मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । समान खेलमा समान १० अंक बटुलेको मनाङ मस्र्याङदी दोस्रो, आठ अंकसहित त्रिभुवन आर्मी फुटबल क्लब तेस्रो र सात अंक जोडेको सातदोबाटो युथ क्लब चौथो स्थानमा छ । हिमालनयको भने चार खेलमा मात्र एक अंक छ । 

२९औं मिनेटमा सुनिल बलले गरेको गोलमा मच्छिन्द्रले अग्रता लिएको थियो । रक्षक ओमोलाजा नुरेन करिमको फ्रि किकलाई सुनिलले पोस्टको दिशा दिएका थिए ।जारी लिगमा सुनिलको यो तेस्रो गोल हो । उनले एनआरटीविरुद्ध २-१ ले जित हात पारेको खेलमा दुवै गोल गरेका थिए ।

६८औं मिनेटमा रजिन धिमालको फ्रि किकमा गोल गर्दै नुर्लान जाहिदले मच्छिन्द्रको अग्रता दोब्बर पारेका थिए ।

इन्जुरी समयमा विमल घर्तीमगरले मच्छिन्द्रको अग्रता बढाएका थिए । जारी लिगमा विमलको यो पहिलो गोल हो ।

यसअघि शनिबार नै भएको पहिलो खेलमा सातदोबाटोको अपराजित यात्रामा पूर्णविराम लगाउने क्रममा एनआरटीले १-० को जित हात पारेको थियो ।

एनआरटीको जारी लिगमा यो नै पहिलो जित थियो । चार खेलमा पाँच अंक जोडेको एनआरटी सातौ स्थानमा छ ।