उरुग्वे कोपा अमेरिकाको क्‍वार्टरफाइनलमा 

रियो दी जेनेरियो, (खेलाडी)- इडिन्सन काभानीले गोल गरेको खेलमा बोलिभियामाथि २-० को जित हासिल गर्दै उरुग्वेले कोपा अमेरिकाको नकआउट चरणमा स्थान पक्का गरेको छ । 

पान्टानल एरिनामा नेपाली समयअनुसार शुक्रबार विहान पौने तीन बजे भएको खेलमा पाएको जितपछि उरुग्वे समूह ‘ए’बाट कम्तिमा पुछारमा नरहने पक्का गर्दै दक्षिण अमेरिकी फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको अन्तिम आठ पुग्‍न सफल भएको हो । 

कोपा अमेरिकामा सहभागि १० टोलीले दुई समूहमा रहेर पहिलो चरणको प्रतिस्पर्धा गरिरहेका छन् । दुवै समूहबाट शीर्ष चार टोली सोझै क्‍वार्टरफाइनल पुग्‍नेछन् । जसअनुसार एक खेलमात्र बाँकी रहँदा उरुग्वे यो जितसँगै चार अंक बटुल्न सफल भएको छ भने अंकको खाता खोल्न पनि नसकेको बोलिभियाको प्रतियोगिता यात्रा समूह चरणमै पूर्णविराम लागेको छ ।
 
कार्लोस लाम्पेले ४०औं मिनेटमा गरेको आत्मघाति गोलमा अग्रता लिएको उरुग्वेका लागि इडिन्सन काभानीले ७०औं मिनेटमा गोल थपेका थिए । काभानीलाई गोलका लागि फाकुन्डो टोरेजले अवसर सिर्जना गरिदिएका थिए । 

समूहको अर्को खेलमा केही बेरपछि पाँच अंकका साथ दोस्रो स्थानमा रहेको चिली र उरुग्वेको जितपछि तीन अंकका साथ चौथो स्थानमा झरेको पाराग्वेले प्रतिस्पर्धा गर्नेछन् ।