सहिद स्मारक लिग

कसरी लिग खेलाउने निर्णयमा पुगे रेफ्री ?, के हो रेफ्री विवाद ?

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणको पूर्व सन्ध्यामा बिहीबार अचानक सात फिफा रेफ्रीले शुक्रबारबाट सुरु सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल नखेलाउने निर्णयसहित अखिल नेपाल फुटबल संघ (एन्फा) मा राजीनामा बुझाए ।

राति अबेर गरी एन्फा र लिग रेफ्रीबीचको विवाद सुल्झिएपछि नेपाली फुटबल एउटा संकटबाट तत्कालका लागि उम्कियो । शुक्रबारका खेलहरु सामान्य तरिकाले सुचारु भए ।

प्रावधान विपरित फिटनेश टेस्टमा बोलाइएको विषयलाई लिएर फिफा रेफ्रीको समूह एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई गुनासो सुनाउँन पुगेको थियो । नेपाली फुटबलको सर्वोच्च पदमा आसिन व्यक्तिसमक्ष आफ्ना गुनासा लिएर जाँदा दुर्व्यवहार भएको भन्दै सात फिफा रेफ्रीले लिग नखेलाउने निर्णयसँगै अध्यक्षलाई राजीनामा पत्र बुझाए ।

उनीहरुलाई समर्थन गर्दै ‘ए’ श्रेणीका थप ९ रेफ्रीले पनि लिग खेलाउन उपस्थित नहुने बेहोराको लिखित पत्र बुझाएपछि एन्फा नेतृत्व हच्कियो र राती रेफ्रीलाई छलफलका लागि भन्दै बोलायो ।

नेपाली रेफ्रीहरुको गुनासो एन्फाका अध्यक्षसँग भन्दा बढि एन्फाको रेफ्री डिभेलपमेन्ट अफिसर (आरडिओ)को रुपमा आएका भारतीय नागरिक गौतम कौरमाथि थियो । त्यही गुनासो सुनाउन जाँदा गरेको दुर्व्यवहारका कारणमात्र रेफ्रीहरु एन्फा अध्यक्ष शेर्पासँग रिसाएका थिए ।

कौरले जारी शीर्ष डिभिजन लिग खेलाइरहेका १० पुरुष र २ महिला गरि १२ ‘फिफा रेफ्री’लाई लिग दौरान फिटनेश टेस्टमा बोलाएपछि विवाद सतहमा आएको हो ।

यसअघि १२ रेफ्रीले गत सेप्टेम्बरमै टेस्ट दिएका थिए । जसबाट उत्रिर्ण भई ‘फिफा ब्याच’ नवीकरण गरेका थिए । नेपालमा यस अघि यस्तै परम्परा थियो । वर्षमा एकपटक मात्रै ‘फिफा फिटनेश टेस्ट’ अनि ब्याच बितरण ।

रेफ्री संघ र रेफ्री कमिटी रहेको एन्फाको वर्तमान नेतृत्वले रेफ्री विकासको लागि भन्दै पहिलो पटक रेफ्री विभाग खडा गर्याे । त्यसको नेतृत्वमा एन्फाका कर्मचारी गोकुल थापा छन् । तर उनी मापदण्ड विपरित विभागको प्रमूख भएको भन्दै रेफ्री संघ र कमिटी भित्रै आलोचनामा परे । यसपछि एन्फाले रेफ्री निर्देशकको लागि दरखास्त आह्वान गर्याे ।

जसमा भारतीय गौतम कौर एक्ला आवेदक रहे । निर्विरोध एन्फाको निर्देशकमा आए पनि उनी सुरुमै बिवादको घेरामा परे । कौरलाई लक्षित गर्दै आरडिओ हुनका लागि म्याच कमिस्नर भएको हुनुपर्ने मापदण्ड बनेपछि अन्य विदेशी नागरिकले आवेदन दिन पाएनन् । जसका कारण कौरले विना प्रतिस्पर्धा नियुक्ति पाएका थिए ।

निर्देशकका रुपमा कार्यभार सम्हालेलगत्तै नेपाली रेफ्रीविरुद्ध लगातार अपमानजनक व्यवहार गरेको भन्दै उनको आलोचना भयो । पटक–पटक आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर पनि रेफ्रीलाई तनाव दिने, आत्माबल गिराउँदै अपमानजनक गाली गर्ने जस्ता व्यवहार गर्न थालेपछि रेफ्रीहरु आरडिओ कौरसँग असन्तुष्ट रहँदै आएको एक रेफ्रीले बताए ।

त्यही क्रममा दोस्रो चरणका लिग सकिएलगत्तै फिटनेश टेस्टका लागि दबाब दिँदै कौरले ‘इमेल’ गरेपछि रेफ्रीको समूह अध्यक्ष शेर्पासँग गुहार माग्न पुगेको थियो ।

उनीहरुको माग थियो, ‘हामी प्रत्येक तिन महिनामा दिने फिटनेश टेस्टको लागि तयार छौं । तर लिग दौरान हामी टेस्ट दिन तयार छैनौं । एक त लिग खेलाउँदाको दबाब, अर्काे परिक्षा भन्ने वित्तिकै आउने अर्काे दबाब झेल्न हामी तयार छैनौं ।’

तर रेफ्रीको समूह अध्यक्षको कार्यकक्षभित्र प्रवेश गरेलगत्तै शेर्पा झोक्किन थाले । गाली गरे । आफूलाई सिधै भेट्न आएकोमा आक्रोश पोखे । ‘तिमीहरु राजनीति गर्न आएको ? गुटबन्दी देखाउन आएको ? लिग खेलाउन सक्छौं, दौड्न सक्दैनौं ? कुदेर कोही घाइते हुन्छ,’ भन्दै आक्रोषित शेर्पाले ‘तिमीहरु लिग नखेलाउने भए नखेलाउनु’ भनेपछि आफूहरु राजीनामा दिन बाध्य भएको एक फिफा रेफ्रीले बताए ।

‘राजीनामाको मुख्य जरो नै यहिबाट उत्पन्न भयो । आफ्नै अध्यक्षबाट घृणित व्यवहार भएपछि, आत्मासम्मान नभएपछि हामीसँग राजीनामाको विकल्प रहेन,’ उनले भने ।

एन्फा परिषरमै १० रेफ्रीले एन्फा अध्यक्षलाई राजीनामा बुझाएका थिए । जसमा युनाल मल्ल (उपलब्ध नभएको)ले उनको हस्ताक्षर थिएन भने दिउसो देखि अन्तिम (राति ९ बजे) सम्म रहेका कविन व्यञ्जनकारले हस्ताक्षर गरेनन् । तर उनले समर्थन भने जनाइरहे ।

विवाद थाहा पाएपछि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले आफ्ना दुई रेफ्री (माधव खत्री र विक्रम चौधरी) लाई फिर्ता बोलाएर राजीनामा फिर्ता लिन लगायो ।

आर्मीका दुई रेफ्रीले लिग खेलाउने भएफछि एन्फाले बाँकी ‘ए’ श्रेणीका रेफ्रीलाई लगाएर लिग सुचारु गर्ने अडानमा कायम रहयो । तर एन्फाको योजनामा रहेका नौं ‘ए’ श्रेणीका रेफ्रीले पनि फिफा रेफ्रीलाई समर्थन जनाउँदै लिगमा सहभागी नहुने निर्णय गरेपछि एन्फा साच्चिकैको दबाबमा पर्यो ।

‘ए’ श्रेणीका रहेका आर्मीका अन्य दुई रेफ्री (विश्वास कार्की, गणेश चौधरी) ले भने लिग नखेलाउने निर्णयमा औपचारिक सहमती जनाएनन् ।

एन्फाले ‘ए’ डिभिजन लिगका लागि ‘ए’ श्रेणीका २४ रेफ्रीलाई निर्णायकको भूमिका दिएको छ । तर १६ रेफ्रीले लिग नखेलाउने निर्णय लिएपछि एन्फा नेतृत्वसामू रेफ्रीसँग सहमति गर्नुको विकल्प रहेन ।

सहमति नगरे शुक्रबारको लिग नै अवरुद्ध हुने अवस्था सिर्जना भएपछि एन्फा अध्यक्ष शेर्पाले राजीनामा बुझाएका रेफ्रीसहित एसेसरहरुलाई समेत बोलाएर बैठक गरेर सहमति निकाले । बैठकमा राजीनामा दिएका सबै १९ रेफ्री, रेफ्री एसेसरहरु श्रीराम रञ्जितकार, विकास महत र सचिन अमात्यसहितसँगको बैठकपछि सहमती निस्किएको एन्फाका एक पदाधिकारीले जानकारी गराए ।

एन्फाका ती पदाधिकारीका अनुसार एन्फाले रेफ्रीहरुको मागअनुसार लिग नभएको समयमा टेस्ट गर्न सहमति जनाएको छ भने आरडिओ कौरसँग नेतृत्वले आफै कुरा गरेर समस्या सुल्झाउने प्रतिबद्धता जनाएको छ ।

बैठक दौरान रेफ्रीहरुले लिग खेलाउन अत्यावश्यक सामाग्री समेत एन्फाबाट नपाएको, पछिल्लो लिगको भत्ता अझै उपलब्ध नगराएको, रेफ्रीको आर्थिक पक्ष सुधारमा एन्फा उदासिन रहेको तथा घाइते भएका रेफ्रीलाई कुनै सहयोग नगरेको जस्ता गुनासो गरेका थिए ।

रेफ्री कुरा सुनेपछि एन्फा अध्यक्ष शेर्पाले एन्फाको आर्थिक स्थिती बलियो नभएको कारण समस्या भएको स्वीकार्दै आफूलाई सोझै भेटन आएकोमा भने गुनासो गरेको एक रेफ्रीले जानकारी गराए ।

‘उहाँले यसअघिका अध्यक्ष गणेश थापाको समयमा अध्यक्षलाई सोझै भेट्न पाइदैनथ्यो भनेर अहिले आफूले एन्फालाई निक्कै खुल्ला गरेको भन्नुभयो । सँगै उहाँलाई सोझै भेट्न गएको भनेर आक्रोष पोख्नुभयो । हामी रेफ्रीहरु यति ठूलो समस्यामा पर्दा अभिभावकलाई भेट्न पनि हजारथरीका प्रक्रिया पूरा गर्नुपर्ने भए हामी फुटबल खेलाउँदैनौं भनेका हौं,’ बिहीबार रातीको बैठकमा सहभागी एक रेफ्रीले भने ।

रेफ्रीहरुसँगको भेटमा अध्यक्ष शेर्पाले भारत र भुटानबाट रेफ्री झिकाएर लिग खेलाउने तयारी गरेको भन्दै आफूहरुलाई धम्क्याएको ति रेफ्रीको आरोप थियो ।

हाल एन्फाले फिफाको सहयोगमा १२ फिफा रेफ्रीहरुलाई मात्रै मासिक १० हजार तलब दिँदै आएको छ । यस बाहेकका अन्य रेफ्रीले भने खेल खेलाएको भत्ता बाहेक सुविधा पाउँदैनन् ।