फिफा

शीर्षता गुम्ने डरले शीर्ष टोलीले नै विश्वकप नयाँ संरचनाको विरोध गरेः इन्फान्टिनो

ज्युरिच । अफ्रिकन राष्ट्रले  फिफाको प्रत्येक दुर्ई वर्षको अन्तरमा विश्वकप फुटबल आयोजनागर्ने प्रस्तावमा पूर्ण समर्थन रहेको जनाएको छ ।

सो प्रस्तावमा अफ्रिकन फुटबल फेडेरेसनले समर्थन जनाएसँगै फिफाका अध्यक्ष जियानी इन्फान्टिनो उत्साही बनेका छन् ।

आर्सेन वेंगरसँगै इन्फान्टिनोले शुक्रबार कायरोमा अफ्रिकन फुटबल फेडरेसन (सिएएफ) को साधरणसभामा विशेष अतिथीका रुपमा सहभागिता जनाएका थिए ।

विश्वकप फुटबलको संरचनामा परिवर्तन गर्न भन्दै फिफाले आर्सनलका पूर्वप्रशिक्षक वेंगरलाई  फिफा ग्लोबल डेभलभमेन्ट प्रमुखको जिम्मेवारी दिएको थियो ।

फिफाको प्रत्येक दुई वर्षको अन्तरमा विश्वकप आयोजना गर्ने प्रस्तावको युइएफए र दक्षिण अमेरिकी फुटबल संघले चर्को आलोचना गरेका थिए ।

‘शीर्ष टोलीले नै विश्वकपको संरचनामा परिवर्तन गर्न गरिएको प्रस्तावको विपक्षमा उभिएका छन् र यो राम्रो संकेत होइन’, इन्फान्टिनोले भने, ‘शीर्षता गुम्ने डरले नै उनीहरुले फिफाले प्रस्ताव गरेको नयाँ संरचनाको विरोध गरेका हुन् ।’

अफ्रिकन फुटबल फेडेरेसनले भने फिफाले प्रत्येक दुई वर्षमा विश्वकपआयोजना गर्ने भन्ने नयाँ संरचनाको स्वागत गर्दै सो प्रस्तावमा  आफूहरु पूर्ण रुपमा समर्थन गर्न तयार रहेको बताएको हो  ।