राष्ट्रिय महिला लिग छनोट

गण्डकीको पहिलो जित

फाइल तस्विर

काठमाडौं  । गण्डकी प्रदेशले राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा आइतबार सम्पन्न खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ४-२ ले पराजित गर्यो ।

जितसँगै गण्डकीले दुई खेलमा तीन अंक जोडेको छ । पहिलो खेलमा गण्डकी सुदूरपश्चिम प्रदेशसँग ५-१ को पराजय ब्यहोरेको थियो । लुम्बिनीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

गण्डकीलाई जित दिलाउन संगीता विक र सुक्रिया मियाले समान दुई गोल गरे । लुम्बिनीका लागि दुवै गोल कप्तान ममता पुनले गरिन् ।

खेलको नवौं मिनेटमा संगीताको गोलमार्फत गण्डकीले अग्रता लिएको थियो । १७औं मिनेटमा ममताले खेललाई बराबरीमा ल्याइन् ।

सुक्रियाले २८औं मिनेटमा गोल गर्दै गण्डकीलार्य २-१ ले अगाडि बढाइन् । ४७औं मिनेटमा संगीताले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन् ।

सुक्रियाले ७६औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दा गण्डकी ४-१ को अग्रता लियो । सात मिनेटपछि ममताले ब्यक्तिगत दोस्रो गोल गरेपछि खेल ४-२ को स्थितीमा सकियो ।