सहिद स्मारक ‘सी’ डिभिजन लिग

सातौं स्थानमा महावीरको फड्को

तस्विरः एन्फा

काठमाडौं । सन्दीप श्रेष्ठले दुई गोल गर्नुका साथै थप एक गोलका लागि अवसर सिर्जना गरेपछि महावीर क्लबले जारी सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आइतबार पहिलो जित हासिल गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा समाज कल्याण खेलकुद केन्द्रविरुद्धको रोमाञ्चक खेलमा महावीरले ३-२ को जित हासिल गर्यो ।

चौथो खेलमा पहिलो जित हासिल गरेपछि महावीर पाँच अंकका साथ लिग अंकतालिकाको सातौं स्थानमा फड्को मार्न सफल भएको छ । आइतबार पराजय भोगेको समाज कल्याणको खातामा पनि समान पाँच अंक छ । तर गोलअन्तरमा अगाडि रहेको समाज कल्याण छैटौं स्थानमा छ ।

सुरज थारुको क्रसलाई वान टचमै पोस्टको दिशा दिएर महावीरलाई नवौं मिनेटमा अग्रता दिलाएका सन्दीपले दोस्रो हाफको पाँचौं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्दै दोस्रो पटक टिमलाई अघि बढाए ।  

पेनाल्टी बक्समा समाज कल्याणका सञ्जिव अर्यालको ह्यान्ड भएपछि प्राप्त पेनाल्टीलाई सन्दीपले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए ।

यसबीचमा ४८औं मिनेटमा समाज कल्याणका मनोज नेपालीले पेनाल्टी बक्स बाहिरबाट कडा सटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।

आफैले दुई गोल गरिसकेका सन्दीपले दिएको थ्रू पासको उपयोग गर्दै गोल थपेर सुरज थारुले ६८औं मिनेटमा महावीरको जित पक्का गरे । सन्दीपको पासलाई पेनाल्टी बक्स बाहिर नियन्त्रणमा लिएका सुरजले दुई विपक्षी रक्षक कटाएर बललाई गोलमा परिणत गरेका थिए ।

समाज कल्याणलाई खेलमा फर्काउने प्रयासस्वरुप समय सकिन दुई मिनेट बाँकी रहँदा सरद राईले अर्को गोल फर्काए ।

टिमका लागि पहिलो गोल गरेका मनोजकै फ्रिकिकमा हेडमार्फत सरदले टोलीको दोस्रो गोल गरेका थिए ।

तस्विरः एन्फा

तर, बाँकी रहेको २ मिनेटको निर्धारित समय र ८ मिनेट थपिएको इन्जुरी समयमा थप गोल गर्न नसक्दा ती गोल समाज कल्याणका लागि सान्त्वनामा सीमित भए ।

महावीरले इन्जुरी समयमा गोल फर्काउँदै जारी लिगको पहिलो खेलमा बाजुराको रानीबन स्पोर्टस क्लबसँग १-१ को बराबरी नतिजा निकालेको थियो ।

दोस्रो खेलमा खालीबारीसँग गोलरहित बराबरी नतिजा निकालेको टोलीले तेस्रो खेलमा सुर्खेतको आरसी ३२ सँग १-० को हार बेहोरेको थियो ।

लिगको सनसनीपूर्ण सुरुआत गर्ने क्रममा पहिलो खेलमा मनोहरा युनाइटेड युथ क्लबलाई ५-० ले हराएको समाज कल्याणले दोस्रो खेलमा रानीबन स्पोर्टस क्लबसँग गोलरहित बराबरी खेल्यो । तेस्रो खेलमा खालीबारी युथ क्लबसँग १-१ को बराबरी नतिजा निकालेको समाज कल्याणको जारी लिगमा यो पहिलो हार हो ।