कतार विश्वकप २०२२

छनोटलाई लिएर धेरै चिन्तित भएको भान हालको खुलासा

अम्स्टर्डम । नेदरल्यान्डसका प्रशिक्षक लुइस भान हालले आफ्नो टोली शीर्ष स्थानमा बस्दै कतार विश्वकप २०२२ का लागि छनोट हुँदैन होला भन्दै धेरै चिन्तित रहेको खुलासा गरेका छन् ।

नेदरल्यान्डसले  मंगलबार नर्वेमाथि २-० को जितका साथ समूह ‘जी’ को विजेताको रुपमा कतारको टिकट पक्का गरेको थियो । सोही समूहबाट टर्की  उपविजेताको रुपमा प्लेअफ खेल्न बाध्य भयो ।

नेदरल्यान्डस् सन् २०१८ को रुस विश्वकपमा छनोट हुन असफल भएको थियो ।

नर्वेको खेलअघि बाइक दुर्घटनामा परेका भान हालले दर्शकदिर्घामा बसेर खेल हेरेका थिए । 

टर्कीले मोन्टेनेग्रोलाई २-१ ले हराएपछि नेदरल्यान्डस् जित्नै पर्ने दबाबमा थियो । खेल सकिन अन्तिम १० मिनेट बाँकी रहँदा दुई गोल गरेसँगै नेदरल्यान्डस्ले विश्वकपको टिकट पक्का गरेको थियो ।

सन् २०२० को युरोपियन च्याम्पियनसिपछि नेदरल्यान्डस पछिल्लो सात खेलमा अपराजित रहँदै आएको छ ।

‘पछिल्लो खेलमा मोन्टेनेग्रोसँग अंक बाँडेपछि हामी स्वतः विश्वकपमा छानोट हुँदैनौ की भनेर चिन्तित बनेका थियौं’, उनले भने, ‘तर हामीले विश्वकप छनोट लक्ष्य पूरा गरेका छौ ।’