कतार विश्वकप २०२२

प्लेअफमा बलियो टोलीहरु छन् तर हामी डराउँदैंनौः राम्सी

लन्डन । वेल्सका कप्तान एरोन राम्सी र केइफर मुरेले विश्वकप छनोटको प्लेअफ अन्तर्गत घरेलु मैदानमा सामना गर्नुपर्ने कुनै पनि टोलीविरुद्ध नडराउने बताएका छन् ।

विश्वकपको युरोपियन छनोटअन्तर्गत समूह ‘इ’ मा रहेको वेल्सले पहिलो चरणको अन्तिम खेलमा बेल्जियमसँग बराबरी खेलेसँगै घरेलु मैदानमा प्लेअफ खेल्न पाउने भएको हो ।

‘युरोपियन छनोटको दोस्रो हुने टोलीमा इटाली र पोर्चुगलजस्ता टोलीहरु छन् । त्यसैले प्लेअफ केहि कठिन हुनेछ,’ मुरेले भने, ‘तर बेल्जियमविरुद्धको खेल जस्तै हामी कुनै पनि टोलीविरुद्ध नडराइ मैदान उत्रन तयार छौं ।’

त्यस्तै वेल्सका कप्तान  राम्सीले बेल्जियमविरुद्धको खेलमा टोलीले उत्कृष्ट प्रदर्शन गरेको बताए ।

‘टोलीको प्रदर्शन निकै राम्रो रह्यो । हामीले बलियो टोलीविरुद्ध राम्रो खेल प्रदर्शन गर्यौं । हामीमा सधै घरेलु मैदानमा सकारात्मक नतिजा निकाल्छौं भन्ने विश्वास छ र आज हामीले त्यसलाई प्रमाणित गर्यौं,’ राम्सीले भने, ‘छनोटको प्लेअफमा केहि ठूला टोलीहरु छन् । तर घरेलु मैदानमा बेल्जियमसँगको बराबरीको नतिजाले हामीलाई प्लेअफमा थप हौसला दिनेछ ।’

विश्वकपको युरोपियन छनोटअन्तर्गत वेल्सले मंगलबार एक गोलपछि रहेको अवस्थामा गोल फर्काउँदा बेल्जियमलाई बराबरीमा रोकेको थियो ।