इङ्लिस प्रिमियर लिग

एकै दिन आर्सनल र लिभरपुल पराजित, सिटीलाई फाइदा

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति आर्सनल र लिभरपुल पराजित हुँदा साविक विजेता म्यानचेष्टर सिटीलाई फाइदा पुगेको छ । दुई टोलीको हारसँगै तेस्रो स्थानमा रहेको सिटीले शीर्षस्थानमा रह्यो ।

सिटीले अघिल्लो दिन लुटन टावनलाई ५–० ले हराएको थियो । सोमबार राति आर्सनल र लिभरपुललाई आ–आफ्नो खेल जित्दै शीर्ष स्थानमा फर्कने अवसर थियो । तर, दुबै टोली पराजित भएपछि उल्टै सिटीले दुई अंकको अग्रता बनायो ।

३२ खेल सम्पन्न हुँदा त्रिकोणात्मक उपाधि भिडन्त रोमाञ्चक बनेको छ । पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटीको ७३ अंक छ । समान ७१ अंक भएपनि आर्सनल दोस्रो र लिभरपुल तेस्रो स्थानमा छन् ।

घरेलु मैदानमा आर्सनललाई स्तब्ध बनाएपछि भ्रमणकारी टोली एष्टन भिल्ला पनि चौथो स्थानमा उक्लदै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।

लन्डनमा आर्सनल तीन मिनेटमा दुई गोल बेहोर्न पुगेको थियो । पहिलो हाफ बराबरीमा सकिँदा दोस्रो हाफमा एष्टन भिल्लाले दुई गोल गरेको हो । ८४औं मिनेटमा लिओन बेइलीले पहिलो गोल गरे । ओलिइ वात्किन्सले ८७औं मिनेटमा दोस्रो गोल गरेका हुन् ।

राति नै भएको खेलमा लिभरपुल क्रिष्टल प्यालेससँग घरेलु मैदानमा १–० ले पराजित भएको थियो ।