मजर लिग सकर

मियामीको रोमाञ्चक जित

काठमाडौं । अमेरिकाको मजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले आइतबार घरेलु टोली स्पोर्टिङ कान्सास सिटीविरुद्ध ३-२ को रोमाञ्चक जित निकालेको छ ।

एरोहेड रंगशालमा मियामीलाई जित दिलाउन डियगो गोमेज, लियोनल मेसी र लुइस स्वारेजले गोल गरे । कान्सासका लागि दुवै गोल एरिक टोमीले गरे ।

जितसँगै नौ खेलमा १५ अंक जोडेको मियामी इस्टर्न जोनको शीर्ष स्थानमा छ । पराजित कान्सास आठ अंकका साथ वेस्टर्न जोनको आठौं स्थानमा छ ।

खेलको छैटौं मिनेटमै टोमीको गोलमार्फत कान्सासले अग्रता लियो । टोमीले टिम लेइबोल्डको पासलाई सदुपयोग गरे ।

मेसीको पासलाई सदुपयोग गर्दै गोमेजले १८औं मिनेटमा मियामीलाई बराबरीमा ल्याए । मेसीले ५१औं मिनेटमा गोल गर्दा मियामी २-१ ले अगाडि बढ्यो । मेसीले डेविड रुइजको पासलाई पोस्टको दिशा दिए ।

मियामीको यो अग्रता लामो समयसम्म टिक्न भने सकेन । सात मिनेटपछि नै टोमीले ब्यक्तिग दोस्रो गोल गर्दा खेल २-२ को बराबरीमा आयो ।

स्वरेजले ७१औं मिनेटमा गोमेजको पासमा गोल गर्दै मियामीलाई ३-२ को रोमाञ्चक जित दिलाए ।