इङ्लिस प्रिमियर लिग

सहज जित निकाल्दै शीर्ष स्थानमा उक्लियो लिभरपुल

काठमाडौं । पुछारको सेफिल्ड युनाइटेडमाथि ३-१ को सहज जित निकाल्दै लिभरपुर इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डार्विन नुनेज, एलेक्सिस म्याक एलिस्टर र कोडी गाक्पोले गोल गरे । सेफिल्डले एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त गर्यो ।

जितसँगै लिभरपुलले ३० खेलमा ७० अंक जोडेको छ । पराजित सेफिल्डको समान खेलबाट १५ अंक छ ।

खेलको १७औं मिनेटमा नुनेजको गोलमार्फत लिभरपुलले अग्रता लियो । सेफिल्डका गोलकिपर इभो ग्रबिकको प्रहारलाई नुनेजले ब्लक गर्दा बल गोलमा परिणत भयो ।

कोनर ब्राडलीबाट आत्माघाती गोल हुन पुगेपछि ५८औं मिनेटमा सेफिल्ड बराबरीमा आयो । म्याक एलिस्टरले ७८औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरेपछि लिभरपुल २-१ ले अगाडि बढ्यो ।

अन्तिम मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई ३-१ को सहज जित दिलाए ।