इङ्लिस प्रिमियर लिग

पाल्मेरको ह्याट्रिकमा चेल्सीको रोमाञ्चक जित

काठमाडौं । कोल पाल्मरको उत्कृष्ट प्रदर्शनप्रेरित चेल्सीले इङ्लिस प्रिमियर लिगमा बिहीबार म्यानचेस्टर युनाइटेडमाथि ४-३ को रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन पाल्मेरले ह्याट्रिक पूरा गर्दा एक गोल कप्तान कोनर गालाघरको नाममा रह्यो । युनाइटेडका लागि अलेजान्द्रो गार्नाचो दुई र कप्तान ब्रुनो फर्नान्डेसले एक गोल गरे ।

जितसँगै २९ खेलमा ४३ अंक जोडेको चेल्सी १०औं स्थानमा छ । पराजित युनाइटेड ३० खेलबाट ४८ अंकका साथ छैटौं स्थानमा छ । 

खेलको चौथो मिनेटमै गालाघरको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । १९औं मिनेटमा पाल्मेरले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

गार्नाचोले ३४औं मिनेटमा गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । पाँच मिनेटपछि नै फर्नान्डेजले डियगो डालोटको पासलाई पोस्टको दिशा दिँदा आर्सनल २-२ को बराबरीमा आयो ।

गार्नाचोले  ६७औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ३-२ को अग्रता दिलाए । उनले एन्टोनीको पासलाई सदुपयोग गरे ।

तर, खेलको अन्त्यतिर सम्हालिन नसक्दा युनाइटेड पराजित हुन पुग्यो । इन्जुरी समयमा पाल्मेरले दुई गोल थप्दै ह्याट्रिक पूरा गरेपछि चेल्सीले ४-३ को रोमाञ्चक जित निकाल्यो ।

जसमा पहिलो गोल पेनाल्टीमार्फत सम्भव हुँदा दोस्रो गोलका लागि इन्डो फर्नान्डेजले अवसर सिर्जना गरे ।