फ्रेन्च लिग वान

पिएसजीले मार्सेलाई हरायो

काठमाडौं । १० खेलाडीमा समेटिए पनि लिग लिडर पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा आइतबार घरेलु टोली मार्सेमाथि २ ० को जित निकालेको छ ।

भेलोड्रोम रंगशालामा पिएसजीलाई जित दिलाउन भिटिन्हा र गोन्कालो रामोसले गोल गरे ।

जितसँगै पिएसजीले २७ खेलमा ६२ अंक जोडेको छ । पराजित मार्से समान खेलबाट ३९ अंकका साथ सातौं स्थानमा छ ।

खेलको ४०औं मिनेटमा लुकास बेराल्डोले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि पिएसजी १० खेलाडीमा समेटिएको थियो ।

भिटिन्हाले ५३औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । उनले ओस्माने डेम्बेलेको पासलाई सदुपयोग गरे ।

रामोसले निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदा गोल गर्दै पिएसजीलाई २-० को जित दिलाए । उनले मार्को एसेन्सियोको पासलाई पोस्टको दिशा दिए ।