विराट गोल्डकप

विराट गोल्डकपमा आर्मी र एनआरटी भिड्दै

फाइल फोटो

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणमा शुक्रबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र न्युरोड टिम(एनआरटी)बीच प्रतिस्पर्धा हुँदैछ ।

विराटनगरको सहिद रंगशालामा हुने खेल साँझ ५ः४५ बजे सुरु हुनेछ ।  

एनआरटी दुई साताअघि मात्र सम्पन्न २४औं बुढासुब्बा गोल्डकपको विजेता हो । धरान रंगशालामा एनआरटीले उपाधि जित्दा क्वार्टरफाइनल खेलमा आर्मीलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

त्यसैले आर्मी शुक्रबार, रात्रिकालीन फुटबल खेलमा बुढासुब्बा गोल्डकपको हारको बदला लिने योजनाका साथ मैदान प्रवेश गर्नेछ । एनआरटी भने लगातार दुई मफोसल प्रतियोगिता जित्ने लक्ष्यमा छ । पछिल्लो खेल आफ्नो पक्षमा आएकाले एनआरटीको मनोबल उच्च छ ।

बिहीबारको उद्घाटन खेलमा पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब(आरटिएफसी)ले अर्को विभागीय टोली नेपाल पुलिस क्बललाई ३-० ले हरायो । अब आरटिएफसीले शनिबार पहिलो क्वार्टरफाइनल खेलमा घरेलु टिम सांग्रीला मोरङ फुटबल क्बलसँग प्रतिस्पर्धा गर्नेछ ।

चैत २४ गतेसम्म संचालन हुने प्रतियोगितामा बिदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागिता छ ।

गोल्डकपको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिने आयोजकले बताएको छ ।