नेपाली फुटबलसँग काठमाडौं जोडिएन

अस्ट्रेलिया । गत साता नेपाली राष्ट्रिय फुटबल टिम विश्वकप तथा एसियन कप छनोट खेल्न बहराइनमा थियो । नतिजा सोचेअनुसारकै आयो, दुवै लेगमा हार । यी हारमा सकारात्मक कुरा खोज्ने हो भने भेटिन्छ । त्यो हो पाँच खेलाडीको ‘डेब्यु’ ।

दुई खेलमा ५ नयाँ खेलाडीको आगमन, त्यो पनि विश्वकप छनोटजस्तो महत्त्वपूर्ण खेलमा । कयौं देशका लागि विश्वकपअन्तर्गतको प्रारम्भिक चरण खासै महत्त्वपूर्ण नहुन सक्छ । तर, नेपालका लागि सधैं महत्त्वपूर्ण हो । किनभने नेपालले अन्तर्राष्ट्रिय खेल नै कम खेल्न पाउँछ । यसकारण जब मौका पाउँछ, तब नतिजा ध्यानमा राखेर खेल्नुपर्ने हुन्छ । यस्तोमा नयाँ खेलाडीको ‘डेब्यु’ सामान्य होइन ।

पाँचमध्ये चार खेलाडी पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् । टिममा अरू चार खेलाडी थिए, जो पहिलो पटक अन्तर्राष्ट्रिय खेलका लागि टिममा बोलाइएका थिए । भलै, तिनले खेल्ने मौका पाएनन् । तर आउँदा खेलमा पक्कै मौका पाउन सक्छन् । यदि नेपालमै भइरहे । वा उनीहरूभन्दा केही खेलले मात्र सिनियर रहेका अरू खेलाडी विदेश भासिए, खेल्ने मौका त्यसै पनि आइहाल्छ ।

पलायन भइरहेका खेलाडीको मुख्य गन्तव्य अस्ट्रेलिया भइरहेको छ । राष्ट्रिय टिमबाट खेलेका, सहिद स्मारक ‘ए’ डिभिजन लिगमा चम्किएका, प्रतिभा भएका, उज्ज्वल भविष्य भएको भनिएका, हरेक किसिमका खेलाडी अस्ट्रेलिया आइपुगेका छन् ।

पहाडै पहाडले भरिएको देश नेपालमा बर्खे झरी समस्या हो । वर्षायाममा दुई वा तीन महिना पर्ने मुसलधारे पानीले देशभर पहिरो ल्याउँछ । हरेक वर्ष यो समस्या उत्पन्न हुन्छ । यसलाई रोक्न सकिँदैन, किनभने यो प्राकृतिक प्रकोप हो । तर, यसको क्षति कम गर्न सकिन्छ उपयुक्त तयारी भए ।

आजको दिनमा नेपाली फुटबल पनि यस्तै प्रकोपबाट गुज्रिँदै छ । तर यो प्राकृतिक होइन, मानव सिर्जित हो । प्रकोप निर्माण एन्फा वा त्यहाँ रहेका नेतृत्वकर्ताबाट भइरहेको छ । जसकारण खेलाडी पलायन बढ्दो छ । पलायनलाई रोक्न सकिएको छैन, रोकिनेवाला पनि छैन । कारण ? योजना र तयारीको अभाव ।

हाल राष्ट्रिय टोलीका प्रशिक्षक छन्, भिन्सेन्जो अल्बर्टो एनेस । उनको नेतृत्वमा नेपालले साफ च्याम्पियनसिप खेलेको एक वर्ष पुगेको छैन । प्रशिक्षक बन्दा उनलाई थाहा थियो, नेपाली टिम पुनःनिर्माणको चरणमा छ, यसको जिम्मा आफैंले लिनुपर्छ । तर पुनःनिर्माण बालुवाको घरमा परिणत भएको छ । बनायो, ढलिहाल्छ । किनभने केही महिनाअघि राष्ट्रिय टिममा परेका खेलाडी आजको दिनमा नेपालमा नहुने स्थिति छ ।

पलायन भइरहेका खेलाडीको मुख्य गन्तव्य अस्ट्रेलिया भइरहेको छ । राष्ट्रिय टिमबाट खेलेका, सहिद स्मारक ‘ए’ डिभिजन लिगमा चम्किएका, प्रतिभा भएका, उज्ज्वल भविष्य भएको भनिएका, हरेक किसिमका खेलाडी अस्ट्रेलिया आइपुगेका छन् ।

‘म धेरै खेलाडीसँग भेट्छु, कुरा सुन्छु, सुनेपछि उनीहरू यहाँ आउनु ठिकै हो जस्तो लाग्छ । राष्ट्रिय टिम र क्लब फुटबलमा लामो समय बिताएपछि, खेल जीवन सकिएपछि अब के ? खेलाडीमा यस्तो अन्योल हुन्छ । विकल्प नै नभएपछि के गरुन् त ?’ मानन्धर प्रश्न गर्छन् ।

खेलाडी पलायनका विषयमा नेपालमा के कति बहस भए ? बहसका प्रकृति, भएका बहस पर्याप्त छन् वा छैनन्, बहस गर्दा समस्याको जडमा पुगिएको छ वा छैन, यी यावत् कुराका लागि नयाँ छलफल आवश्यक हुन्छ । तर यहाँ प्रश्न, खेलाडी पलायन साँच्चै असामान्य हो त ? एक कालखण्डमा नेपाली फुटबल प्रशासन सम्हालेका राजु मानन्धर यसमा सहमत छैनन् ।

‘नेपालबाट हरेक पेसाका मान्छे विदेशिएका छन् । खेलाडी विदेशिनुलाई पनि यही घानमा राखेर हेर्नुपर्छ । प्राध्यापक, डाक्टर, इन्जिनियर, सरकारी कर्मचारी आदि विदेश भासिएका बेला खेलाडी पलायन हुनु के ठूलो कुरा भयो र ?’ 

ललितकला क्याम्पसका पूर्वप्रमुख मानन्धर भन्छन् । अंग्रेजी साहित्यमा विद्यावारिधि गरेका मानन्धर हाल अस्ट्रेलियाली सहर सिड्नीमा परिवारसहित बस्छन् ।

सिड्नीमा कयौं क्याम्पसमा अध्यापन गराउने मानन्धर उपयुक्त पात्र हुन्, नेपाली खेलाडी पलायनका विषयमा चर्चा गर्न । किन ? कारण पर्याप्त छन् । पहिलो, उनले पढाउने धेरै क्याम्पसमा ती खेलाडी पनि विद्यार्थी छन् । यस्तोमा अस्ट्रेलिया आइसकेपछि ती खेलाडीको मनोवृत्ति बुझ्न उनलाई कठिन हुने भएन ।

दोस्रो, लामो समयदेखि अस्ट्रेलियामा बसोबास गरिरहेको भएका कारण उनी यहाँको एनआरएनए राजनीति र सँगसँगै सामाजिक क्रियाकलापमा संलग्न छन् । यसकारण नेपाली समुदाय र भर्खरै आएका नेपालीले भोग्ने संघर्षबारे उनी जानकार छन् ।

तेस्रो, उनी सन् १९९५ देखि २००१ सम्म अखिल नेपाल फुटबल संघ (एन्फा)का कोषाध्यक्ष थिए । चौथो, उनी आफैं पूर्वखेलाडी हुन् । उनकै कप्तानीमा युनाइटेड युथ फुटबल क्लब ‘ए’ डिभिजनमा उक्लिएको थियो ।

‘म धेरै खेलाडीसँग भेट्छु, कुरा सुन्छु, सुनेपछि उनीहरू यहाँ आउनु ठिकै हो जस्तो लाग्छ । राष्ट्रिय टिम र क्लब फुटबलमा लामो समय बिताएपछि, खेल जीवन सकिएपछि अब के ? खेलाडीमा यस्तो अन्योल हुन्छ । विकल्प नै नभएपछि के गरुन् त ?’ मानन्धर प्रश्न गर्छन् ।

‘जति आएका छन्, उनीहरू यहाँ राम्रो कमाइ गर्छन्, घर पठाउन सक्छन्, नेपालमा खेलेर कमाएर घरमा दिन गाह्रो छ । २०-२१ वर्षको उमेर भएका खेलाडी पनि यहाँ आएका छन् । कतिपय मेरा विद्यार्थी पनि हुन्,’ मानन्धर भन्छन्, ‘उमेर पुगेका खेलाडी खेल्न छाडेपछि घर चलाउनै नसकिने दुःख पोख्छन् । उनीहरूको कुरा सुन्दा यता आएर उनीहरूले ठिक गरे जस्तो लाग्छ । कम्तीमा उनीहरू आर्थिक हैसियत त ठिक गर्न सक्छन् । मैले धेरै खेलाडीसँग कुरा गरेको छु । खेलुन्जेलको ग्ल्यामरले सधैं काम गर्दैन ।’

अस्ट्रेलियाको कुल जनसंख्याको ०.६ प्रतिशत हिस्सा ओगटेको नेपाली स्थायी बसोबासको प्रमाणपत्र लिने मामलामा पनि अगाडि छन् । भारतीय र चिनियाँपछि सबैभन्दा धेरै स्थायी बसोबासको प्रमाणपत्र लिने नेपाली हुन् ।

खेलाडीमात्र होइन, समग्र युवामै पलायनको लालसा बढिरहेकाले समस्या फुटबलको मात्र नभई देश र समाजकै भएको उनको ठम्याइ छ । ‘यहाँ आउनुअघि म सरकारी प्राध्यापक थिएँ । चिन्नेहरू भन्थे, मानन्धर कुनै दिन त्रिभुवन विश्वविद्यालयको भिसी बन्नसक्नुहुन्छ । हुन पनि म ४० वर्ष पुग्दा पुग्दै क्याम्पस चिफ भएको थिएँ । तर म यता आएँ । फुटबलको व्यवस्थित क्यालेन्डर नै नभएको देशमा खेलाडीले सपना देख्न नसक्नुलाई म कसरी असामान्य भनौं र ?’ मानन्धरको प्रश्न छ ।

त्यसबेला खेल्दाखेल्दै एन्फा प्रशासनमा छिरेका मानन्धर अहिलेकै स्तरमा खेलाडी पलायन भइरहने हो भने नेपाली फुटबल एक दिन ‘कोल्याप्स’ हुने भविष्यवाणी गर्छन् ।

अस्ट्रेलियाली सरकारको पछिल्लो तथ्यांकअनुसार नेपालमा जन्मिएका १ लाख ५१ हजार नेपाली हाल अस्टे«लियामा बसोबास गर्छन् । यो संख्याले अस्ट्रेलियामा नेपाली समुदायलाई १०औं ठूलो आप्रवासी समुदाय बनाउँछ ।

अस्ट्रेलियाको कुल जनसंख्याको ०.६ प्रतिशत हिस्सा ओगटेको नेपाली स्थायी बसोबासको प्रमाणपत्र लिने मामलामा पनि अगाडि छन् । भारतीय र चिनियाँपछि सबैभन्दा धेरै स्थायी बसोबासको प्रमाणपत्र लिने नेपाली हुन् ।

यो तथ्यांकलाई अस्ट्रेलियाली फुटबलसँग कुनै न कुनै रूपमा जोड्न सकिन्छ । अस्ट्रेलियामै जन्मिएका नेपाली मूलका किशोरहरू हाल त्यहाँका विभिन्न तहका लिगमा खेलिरहेको बताउँछन्, मानन्धर । त्यसो भए के उनीहरूलाई नेपाली टिमबाट खेलाउन पहल गर्न सकिन्छ ?

‘कम्तीमा पहल गर्न सकिन्छ । मैले एन्फाका तत्कालीन अध्यक्ष नरेन्द्र श्रेष्ठसँग पहलको प्रयास गरौं भनेर प्रस्ताव राखेको थिएँ । भलै यसो गर्न सजिलो छैन । नेपालमा खेल्दाखेल्दै यता आएकालाई त फर्काउन सजिलो छैन भने यही जन्मिएकालाई फकाउन त झन् कति गाह्रो होला ? फेरि कानुनी अड्चन पनि छन्,’ एन्फा अस्ट्रेलियाका पूर्व अध्यक्ष मानन्धरको भनाइ छ ।

‘नेपाली फुटबलसँग काठमाडौं जोडिएन’

मानन्धर काठमाडौंको कालिमाटी क्षेत्रमा जन्मिएका हुन्, उनी त्यहीं हुर्किए । उनका अनुसार उनी खेल्ने बेला ‘ए’ डिभिजन लिग खेल्ने अधिकांश क्लबहरू विष्णुमतिपारिका थिए । उनको क्षेत्रमा खाली युनाइटेड युथ क्लबमात्र थियो ।

‘यो २०३८–३९ सालतिरको कुरा हो । त्यसबेला मैले युनाइटेडबाटै खेलेको हो,’ मानन्धर पुराना दिन सम्झन्छन्, ‘म २० वर्षको थिएँ । क्लबको कप्तानी गर्थें । त्यही बेला हामीले युनाइटेडलाई ‘ए’ डिभिजनमा उकालेको हो ।’ अट्याकिङ सेन्टरब्याक भएर खेल्ने मानन्धरको कप्तानीमा युनाइटेड ‘बी’ डिभिजनमा उपविजेता भएर माथिल्लो श्रेणीमा बढुवा भएको थियो ।

काठमाडौंलाई फुटबलसँग जोडिरहन नसकेपछि एन्फाले फुटबललाई अन्यत्र विस्तार गर्ने विषयमा योजनाबद्ध पहल गर्नुपर्ने भए पनि नसकेको उनको बुझाइ छ । फुटबललाई पुरानै अवस्थामा फर्काउन मात्र पनि यसको संरचनामा परिपक्व सुधार आवश्यक रहेको उनी बताउँछन् ।

मानन्धरको परिवारमा पढाइलाई बढी महत्त्व दिइन्थ्यो । परिवारका अधिकांश सदस्य पढेलेखेकाका कारण मानन्धरमाथि पढाइको दबाब थियो । जसकारण उनले फुटबल खेलेको मन पराइँदैन्थ्यो । यद्यपि उनले फुटबल खेल्न कहिले छाडेनन् ।

‘त्यसबेला फुटबलमा करियर बनाउन पनि गाह्रो । उसै पनि फुटबल करियर आफैंमा बलियो नहुने । यसकारण मैले खेलेकामा परिवार खुसी हुने कुरै भएन । बुटसम्म आफैं किन्नुपर्ने, क्लब वा कतैबाट आउने थिएन । बुट किन्नु भनेको सौखिन काम थियो,’ मानन्धर विगतमा घोत्लिन्छन् ।

घरभन्दा केही परको छाउनी मैदान मानन्धरका लागि फुटबल कौशल निखार्ने पाठशाला थियो । त्यहीं रहेका नेपाली सेनाका जवानहरू पनि उनका ‘टिममेट’ हुन्थे । पछि दशरथ रंगशाला उनका लागि नयाँ घर बन्यो । यद्यपि त्यतिबेला लिग निरन्तर हुँदैनथ्यो ।

‘लिग भइहाले, विभिन्न कारणले रोकिन्थ्यो । रोकिएको लिग अर्को वर्ष नहुने । वर्षायाममा भए हिलोमै खेलिन्थ्यो । तर जे जे भए पनि क्रेज गजबको थियो,’ मानन्धर भन्छन् ।

‘जेहोस्, रंगशाला भरिन्थ्यो । क्लबका स्थानीय समर्थक हुन्थे । माहोल बन्थ्यो । मान्छेहरू बाजागाजासहित रंगशाला पुगेका हुन्थे । त्यसबेला अन्तर्राष्ट्रिय फुटबल हेर्ने मौका हुँदैनथ्यो । बस सुन्न, पढ्नमात्र पाइन्थ्यो । पेले यस्तो खेल्छ अरे, भन्थे । यसकारण स्थानीय फुटबलमा समर्थक धेरै रमाउने गर्थे,’ मानन्धरको अनुमान छ । पेले र म्याराडोनाबारे खुबै पढ्ने मानन्धर आफू डिफेन्डर भएकाले जर्मनीका बेकनबाउरका समर्थक थिए ।  

काठमाडौंमा स्थानीय बच्चाहरूका लागि फुटबल खेल्ने ठाउँ नभएकोबारे पनि मानन्धर सचेत छन् । ‘हाम्रो पालामा पर्याप्त ठाउँ थियो । अहिले त मैदान पनि छैन । कहाँ खेल्ने ? भएका खाली ठाउँ ओगटिइसके,’ मानन्धर निराशा पोख्छन्, ‘पहिले छाउनीको त्यो मैदानमा खेल्ने टिम १४–१५ वटा हुन्थे । अहिले त्यो मैदान सेनाले लियो । अरू स–साना मैदान पनि मासिए । हामीले नदीको बगरमा पनि खेलेका थियौं । अहिले त त्यस्ता ठाउँमा घर छन् ।’
 

हाल दशरथ रंगशालामा पर्याप्त समर्थक किन पुग्दैनन् ? यसमा मानन्धरको आफ्नै किसिमको बुझाइ छ । ‘पहिले फुटबल काठमाडौंका स्थानीयसँग कनेक्ट थियो । अहिले काठमाडौंका स्थानीयको प्राथमिकतामा फुटबल छैन । उनीहरूको बच्चा फुटबल खेल्दैनन् । प्लस टु पछि कसरी विदेश पठाउने भन्ने मात्र छ, जबकि त्यो उमेर फुटबल खेल्नेका लागि करियर बनाउने उमेर हो,’ मानन्धर भन्छन् ।

‘अनि अर्को कुरा, अहिले त काठमाडौंका खेलाडी पनि छैनन् । क्लब त्रिपुरेश्वरको अनि खेलाडी झापाको । स्थानीय खेलाडी नभएपछि क्लबसँग कनेक्ट हुँदैन । अहिले स्थानीयहरू खासै रंगशाला गएको पनि पाउँदिनँ, काठमाडौं गएका बेला यसो विचार गर्छु, रंगशाला गएर फुटबल हेर्ने धेरैजसो मान्छे काठमाडौंबाहिरका हुन्छन् जस्तो लाग्छ । पहिले त काठमाडौंका स्थानीय, विशेषगरी नेवार समुदायका मानिसको ठूलो योगदान र सहभागिता हुन्थ्यो,’ मानन्धरले थपे ।

काठमाडौंलाई फुटबलसँग जोडिरहन नसकेपछि एन्फाले फुटबललाई अन्यत्र विस्तार गर्ने विषयमा योजनाबद्ध पहल गर्नुपर्ने भए पनि नसकेको उनको बुझाइ छ । फुटबललाई पुरानै अवस्थामा फर्काउन मात्र पनि यसको संरचनामा परिपक्व सुधार आवश्यक रहेको उनी बताउँछन् ।

‘तर फुटबल काठमाडौंबाहिर लाने भनेर लहडी पारामा काम चाहिँ गर्नुहुन्न । अचेल फुटबलकै मानिसहरू सामाजिक सन्जालमा फुटबल काठमाडौंबाट बाहिर लानुपर्छ भनेर हचुवा कुरा गरिरहेका भेटिन्छन्,’ मानन्धरको सुझाव छ, ‘हठात रूपमा राजनीतिक निर्णय होइन, नेपाली फुटबललाई सुझबुझपूर्ण कदमको खाँचो छ । फुटबललाई देशव्यापी बनाउन राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासहरूको अध्ययन गर्नुपर्छ । देशभित्रै पनि सम्भावनाहरूको अध्ययन गरिएपछि परिपक्व तरिकाले योजनाबद्ध रूपमा सबै सरोकारवालाको विश्वास लिएर अगाडि बढ्नुपर्छ ।’

काठमाडौंमा स्थानीय बच्चाहरूका लागि फुटबल खेल्ने ठाउँ नभएकोबारे पनि मानन्धर सचेत छन् । ‘हाम्रो पालामा पर्याप्त ठाउँ थियो । अहिले त मैदान पनि छैन । कहाँ खेल्ने ? भएका खाली ठाउँ ओगटिइसके,’ मानन्धर निराशा पोख्छन्, ‘पहिले छाउनीको त्यो मैदानमा खेल्ने टिम १४-१५ वटा हुन्थे । अहिले त्यो मैदान सेनाले लियो । अरू स-साना मैदान पनि मासिए । हामीले नदीको बगरमा पनि खेलेका थियौं । अहिले त त्यस्ता ठाउँमा घर छन् ।’

सबै तस्विर मानन्धरको फेसबुकबाट