काठमाडौं । सन् २०२६ मा हुने आईसिसी पुरुष ट्वान्टी-२० विश्वकप क्रिकेट संयुक्त रूपमा भारत र श्रीलंकाले आयोजना गर्नेछन् । विश्वभरका २० देशको यस विश्वकपमा सहभागिता रहनेछ । हालसम्म १५ देशको यात्रा तय भइसकेको छ ।
अब, एसिया र अफ्रिकाबाट मात्र ५ टिमको टुंगो लाग्न बाँकी छ । अफ्रिकाको छनोट सन् २०२५ को सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुँदै छ । यता एसिया र इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म खेलाइने तालिका छ ।
हालसम्म आयोजक भारत र श्रीलंका सिधै छनोट हुँदा ८ टिम अघिल्लो विश्वकपको सुपर एटमा पुगेका टिम हुन् । त्यसमा अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, अमेरिका, अफगानिस्तान र बंगलादेश छन् ।
यता, आइसिसी वरियताका आधारमा पाकिस्तान, न्युजिल्यान्ड र आयरल्यान्ड छनोट भइसकेका छन् । यी तीनै टिम पछिल्लो विश्वकपको सुपर एटमा पुग्न सकेको थिएन । तर, सन् २०२४ जुन ३० सम्मको वरीयताका कारण तीन टिम विश्वकपमा स्थान बनाउन सफल भएका हुन् ।

युरोप छनोटबाट नेदरल्यान्ड्स विजेता र इटाली उपविजेताको रूपमा विश्वकपमा छानिए । बेलायती मूलका खेलाडी समावेश गरेको इटालीले पहिलो पटक विश्वकपमा स्थान बनाएको छ । यता, अमेरिकी छनोटबाट क्यानडाले विश्वकपमा स्थान पक्का गरेकाे छ ।
अहिलेसम्म इटाली मात्रै नयाँ टोलीको रूपमा छनोट भएको छ । बाँकी टोलीले विश्वकपको अनुभव लिइसकेका छन् ।
आगामी विश्वकपमा २० टिमले ५५ खेल खेल्नेछन् । सन् २००७ देखि सुरु भएको ट्वान्टी-२० विश्वकपमा पहिलो पटक २० टिमले भाग लिन लागेको हो । २०१२ सम्म १२ टिम सहभागी थिए । २०१४ देखि २०२२ समम १६ टिमको सहभागिता थियो ।
हालसमम भारत, वेस्ट इन्डिज र इङ्ल्यान्डले समान दुई पटक विश्वकपको उपाधि जितेका छन् । पाकिस्तान, श्रीलंका र अस्ट्रेलिया एक पटक च्याम्पियन भएका छन् । पाकिस्तान र श्रीलंका दुई पटक उपविजेता भएको छ । अस्ट्रेलिया, न्युजिल्यान्ड, भारत र दक्षिण अफ्रिका पनि १-१ पटक उपविजेता भएको छ ।
विश्वकप समीकरण यसरी छनोट भएका २० टिमलाई चार समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष दुई टोली सुपर–एटमा पुग्नेछन् । सुपर–एटमा पुगेका ८ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइने आइसिसीको नियम छ । त्यसबाट चार टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल इडेन गार्डेन वा प्रेमदासा मैदानमा हुने आइसिसीले जनाएको छ ।

एसियाको अवस्था ?एसियाबाट ९ टिमले विश्वकप छनोटमा सहभागिता पाउनेछ । ओमानमा हुने २१ खेलपछि विश्वकपमा स्थान बनाउने तीन टिमको टुंगो लाग्नेछ । यो क्षेत्रबाट नेपाल, ओमान, पपुवा न्युगिनी (पिएनजी), सामोआ, कुवेत, मलेसिया, जापान, कतार र संयुक्त अरब इमिरेट्स (युएई) छन् । ९ टिममध्ये नेपाल, ओमान, युएई र पिएनजी बलियो प्रत्याशी हुन् ।
समूह ‘ए’ मा मलेसिया, कतार र युएई, समूह ‘बी’ मा जापान, कुवेत र नेपाल तथा समूह ‘सी’ मा ओमान, पिएनजी र सामोआ रहेका छन् । तीन समूहका शीर्ष दुईबीच सुपर-सिक्स प्रतिस्पर्धा हुनेछ । सुपर सिक्सका शीर्ष तीन टिम विश्वकपमा सिधै छनोट हुनेछन् ।
अफ्रिकाबाट जिम्वावे र नामिबिया बलिया प्रत्यासीअफ्रिकाबाट विश्वकप छनोटमा ८ टिमले सहभागिताको प्रतिस्पर्धा गर्दै छन् । समूहका शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छ । छनोटका खेल जिम्बावेमा हुनेछ । आयोजक जिम्बावेसहित युगान्डा, तान्जेनिया, नाइजेरिया, नामिबिया, मालवी, केन्या र बोत्सवाना रहेका छन् । यसअघि यी टिम अमेरिकी छनोट र अफ्रिकी छनोट खेलेर अन्तिम चरणको छनोट खेल खेल्न आइपुगेका हुन् ।