आरबिबीएल-इसान कप

आरबिबीएल-इसान कपः एनआइएमबी च्याम्पियन

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) आरबिबीएल-इसान कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा च्याम्पियन बनेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा सोमबार एनआइएमबीले नेपाल आयल निगमलाई २-०ले पराजित गर्यो । एनआइएमबीलाई जित दिलाउन दुवै गोल सुलभ थापाले गरे ।

उपाधिसँगै एनआइएमबीले ५० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता आयल निगमले ३० हजार रुपैयाँ पायो ।

सोल्टीमोडस्थित चैत्य फुटसलमा भएको प्रतियोगितामा तेश्रो स्थान हािसल गरेकाे नेपाल बैंक लिमिटेडले २० हजार रुपैयाँ प्राप्त गर्यो ।

नेपाल बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई २-० ले हरायो । विजेताका लागि रञ्जन बराल र सुदीप सुवेदीले समान एक गोल गरे ।

सुलभ थापा 

प्रतियोगिताभर नौ गोल गरेका एनआइएमबीका सुलभ थापा सर्वाधिक गोलकर्ता बने । एनआइएमबीकै सगुनकुमार मोक्तान उत्कृष्ट गोलकिपर घोषित भए । राष्ट्रिय वाणिज्य बैंकले अनुशासित टिमको उपाधि हात पार्यो ।

विजेतालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, राष्ट्रिय वाणिज्य बैंकका नायब कार्यकारी प्रमुख देवेन्द्ररमन खनाल, इसानका अध्यक्ष रामविनय श्रेष्ठ, तत्कालीन पेस्डानका अध्यक्ष कुलप्रसाद आचार्यलगायतले  पुरस्कृत गरे ।

तीन दिने प्रतियोगितामा विभिन्न १६ संस्थाका १८ टिमले प्रतिस्पर्धा गरेका थिए ।