एफए कप

लेस्टरलाई हराउँदै चेल्सी सेमिफाइनलमा

काठमाडौं । लेस्टर सिटीमाथि ४-२ को रोमाञ्चक जित निकाल्दै चेल्सी एफए कपको सेमिफाइनल प्रवेश गरेको छ।

घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा आइतबार चेल्सीलाई जित दिलाउन मार्क कुकुरेला, कोल पाल्मर, कार्ने चुक्वाहमेका र नोनी मडेकले गोल गरे । लेस्टरका लागि स्टेफी माविडिडीले एक गोल गर्दा एक गोल आत्मधाती उपहार स्वरुप प्राप्त गर्यो ।

खेलको १३औँ मिनेटमा कुकुरेलाको गोलमार्फत चेल्सीले अग्रता लियो । रहिम स्टर्लिङले २६औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा चेल्सीले अग्रता दोब्बर बनाउने मौका गुमायो।

पहिलो हाफको इन्जुरी समयमा पाल्मेरले टोलीको अग्रता दोब्बर बनाए । ५१औं मिनेटमा चेल्सीका एक्सल डिसासीबाट आत्मधाती गोल हुन पुग्दा खेल २-१ को स्थितीमा आयो ।

६२औँ मिनेटमा माविडिडीले गोल गर्दै लेस्टरलाई २-२ को बराबरीमा ल्याए । कलुम डोयले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि लेस्टर७३औँ मिनेटमा १० खेलाडीमा समेटियो ।

खेलको इन्जुरी सयमयमा चुक्वाहमेकाले गोल गर्दै चेल्सीलाई ३-२ ले अगाडि बढाए । इन्जुरी समयमै मडेकले गोल गर्दै टोलीलाई ४-२ को रोमाञ्चक जित दिलाए ।