प्रीति राई

प्रीतिको शल्यक्रिया सफल

तस्विर एन्फा

 सातदोबाटो  । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी महत्वपूर्ण सदस्य प्रीति राईको घुँडाको शल्यक्रिया सफल भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित बि एण्ड बी अस्पतालमा सोमबार प्रीतिको लिगमेन्टको शल्यक्रिया सफल भएको जानकारी दिएको हो ।

प्रीति तीन महिना मैदान बाहिर रहने छिन् । वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको फाइलनमा जोर्डनविरुद्ध खेल्दा प्रीतिको घुँडामा चोट लागेको थियो । दोस्रो हाफमा उनी खेल्न सकिनन् ।

मैदानमै प्राथमिक उपचारपछि उनलाई खेलाउने तयारी गरिएको थियो । तर, ५-७ मिनेटसम्म पनि उनी तयार नभएपछि प्रशिक्षक राजेन्द्र तामाङले प्रीतिको स्थानमा ७५औं मिनेटमा अनिता केसीलाई मैदान पठाएका थिए ।

फाइनलमा जोर्डनसँग पेनाल्टीमा नेपाल ५-३ ले पराजित हुँदा उपाधिबाट बञ्चित भएको थियो । यसअघि प्यालेस्टाइनविरुद्ध सेमिफाइनलको इन्जुरी समयमा गोल गर्दै प्रीतिले नेपाललाई जित दिलाएकी थिइन् ।

यसअघि प्रीतिको एएफसी यु-२० महिला एसियन छनोट खेल्दा खुट्टा भाचिएको थियो । त्यति बेला पनि उनी ६ महिना मैदान बाहिर थिइन् ।

चोटसँगै प्रीतिले भारतीय महिला लिगको बाँकी खेल गुमाउने छिन् । उनी किकस्टार्टबाट लिग खेल्दै आएकी थिइन्।