नेपाली फुटबल

राष्ट्रिय महिला लिग दुई चरणमा हुने

काठमाडौं । राष्ट्रिय महिला लिगको बारेमा छलफलका बोलाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठक सम्पन्न भएको छ ।

एन्फाको साधारणसभाले फागुन १४ मा अनुमोदन गरेको एन्फाको वार्षिक क्यालेन्डर कार्यान्वयन गर्नका लागि सोमबार बोलाइएको बैठकले छनोट र मुख्य गरी दुई चरणमा लिग आयोजना गर्ने निर्णय पारित गरेको छ । 

सातवटै प्रदेशका टोली सहभागी हुने गरी चैत २३ गतेदेखि कर्णाली प्रदेशको सुर्खेत जिल्लामा छनोट प्रतियोगिता हुनेछ । जसबाट शीर्ष तीन टोलीले राष्ट्रिय महिला लिगमा स्थान बनाउने छन् । 

छनोट प्रतियोगिताको बासस्थान र यातायात खर्च एन्फाले व्यहोर्ने छ भने कर्णाली जिल्ला फुटबल संघ र सुर्खेत जिल्ला फुटबल संघ सहआयोजक रहने छन् ।

एन्फाले छनोटका लागि कर्णाली खेलकुद विकास परिषद्सँग पनि आर्थिक सहयोगका लागि आग्रह गरेको । प्रतियोगिताको संयोजन पनि परिषद्ले नै गर्नेछ ।

एन्फाले आवश्यक टोली तयारी र छनोटका लागि प्रदेशहलाई एक लाख रुपैयाँ उपलब्ध गराउने छ । एन्फाले राष्ट्रिय महिला लिग मे/ जुनमा गर्ने योजना बनाएको छ ।

बैठकमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राई, पूर्व सदस्य विकास नारायण श्रेष्ठ, सदस्य सरिला श्रेष्ठ , महिला समितिका संयोजक पेमा डोल्मा लामा, उपमहासचिव अरुणमान जोशी र विजय घले तथा सिइओ इन्द्रमान तुलाधरलगायतको उपस्थिती थियो ।

त्यस्तै अर्को बैठकमा एन्फाले मिसन फिफा महिला विश्वकप २०२७-३१ अन्तर्गत च्यासल रंगशालामा, वुमन्स युथ एलिट एकेडेमी स्थापना गर्ने योजना पनि सार्वजनिक गरेको छ ।

एन्फाले देशव्यापी रुपमा विभिन्न फुटबल एकेडेमी सञ्चालन गर्ने विषयमा केन्द्रित छलफलले धरान, बुटवल र मकवानपुरको सिस्नेरीस्थित बत्सलादेवी माविमा रहेका एकेडेमीमा समान ३० जना पुरुष खेलाडीलाई समायोजन गर्ने निर्णय गरेको थियो । रौतहटको महिला एकेडेमीमा पनि ३० जना यु-१४ महिला खेलाडीलाई राखिने भएको छ ।