विश्‍व च्याम्पियन फ्रान्ससामु उत्साहित हंगेरीको चुनौती

बुदापेस्ट, (खेलाडी)- पहिलो खेलमा जर्मनीबाट आत्मघाति गोलको उपहार पाएका कारण युरोपियन च्याम्पियनसिप (युरो २०२०) मा सुखद सुरुआत गर्न सफल विश्‍व च्याम्पियन फ्रान्सले आज समूह ‘एफ’ को दोस्रो खेलमा हंगेरीको चुनौती सामना गर्नुपर्नेछ । 

बुदापेस्टको पुस्कास रंगशालामा आज साँझ पौने सात बजे घरेलु टोली हंगेरीको सामना गर्दा फ्रान्स स्पष्‍ट तीन अंक जोड्दै समूह चरणबाट माथि उठ्ने बाटो सहज बनाउन चाहन्छ ।

जर्मनीविरुद्ध फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पे र करिम बेन्जिमाले गोल गरे पनि दुवै गोल अफसाइड भएको भन्दै भिएआरले अमान्य घोषित गरेको थियो । हंगेरीविरुद्ध डिडियर डेसच्याम्पस आफ्ना स्ट्राइकरहरुले गोल लय भेट्टाएको हेर्न चाहन्छन् । 

२०१८ मा रुसमा भएको विश्‍वकप विजेता फ्रान्स युरो २०२० को उपाधि जित्दै स्पनेको कीर्तिमान बराबरी गर्न चाहन्छ  । सन् २०१० को विश्‍वकप विजेता स्पेनले सन् २०१२ मा युरोको उपाधि जितेको थियो । तर बुदापेस्टमा हंगेरीविरुद्ध सुखद नतिजा निकाल्नु फ्रान्सका लागि सहज भने पक्कै हुने छैन । 

घरेलु मैदान बुदापेस्टमा फ्रान्सविरुद्ध विगतको नतिजामा अब्बल देखिएको हंगेरी सोही सफलतालाई निरन्तरता दिँदै अन्तिम १६ प्रवेश सम्भावना जीवित राख्‍न चाहन्छ । पहिलो खेलमा साविकको विजेता पोर्चुगललाई ८३ मिनेट सम्म रोकेको हंगेरी अन्तिम ७ मिनेट सम्हालिन नसम्दा १ अक जोड्नबाट वञ्‍चित भएको थियो । फ्रान्सविरुद्धको हार वा बराबरीले हंगेरीको युरो २०२० यात्रा समुह चरणमा सीमित बन्‍न सक्छ । 

बुदापेस्टमा हंगेरी र फ्रान्स ८ पटक आमने सामने भएका छन् । जहाँ हंगेरीले ६ खेल जितको छ भने एक खेल बराबरीमा सकिएको छ । फ्रान्सले एक खेल मात्र जितेको छ । पोर्चुगलसँग पराजित भए पनि अन्तिम समयसम्म साविक विजेतालाई रोक्न सक्नुको उत्साह पनि हंगेरीसँग आज साँझको खेलमा हुनेछ । जुन फ्रान्सका लागि घातक बन्‍न सक्छ ।