विश्‍वकप २०१८ को नियतिबाट मुक्त हुने प्रयासमा जर्मनी

म्युनिख, (खेलाडी)- साविक विजेता पोर्चुगल स्पष्‍ट जितका साथ एक खेल अघि नै युरोपियन च्याम्पियनसिप (युरो २०२०) को नकआउट चरणमास्थान पक्का गर्ने लक्ष्य लिएर आज राति युरोपेली महारथी जर्मनीविरुद्ध मैदान उत्रिँदैछ । 

जर्मनीको म्युनिखस्थित एलियान्ज एरिनामा राति पौने दश बजे दुई महारथी टोलीबीच रोमाञ्‍चक भिडन्त हुनेछ । 

प्रतियोगिताको ‘ग्रुफ अफ डेथ’ (अत्यन्तै कठिन) मानिएको समूह ‘एफ’ को पहिलो खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोको उच्च प्रदर्शन प्रेरित पोर्चुगलले हंगेरीमाथि ३-० को जित हासिल गरेको थियो । जसका कारण आजको खेल जित्‍न सके टोली एक खेल अगावै नकआउट चरणमा स्थान पक्का गर्न सफल हुनेछ । 

हंगेरीविरुद्धको खेलको अन्तिम ५ मिनेटमा पोर्चुगलले नतिजा आफ्नो पक्षमा पारेको थियो । सो खेलमा दुई गोल गरेका रोनाल्डो युरोपियन च्याम्पियनसिपकै सर्वकालिन उच्च गोलकर्ता बनेका थिए । सन् २०१६ को युरोमा मिचेल प्लाटिनीको नाममा रहेको ९ गोलको कीर्तिमानसँग बराबरी गरेका रोनाल्डोले प्रतियोगितामा आफ्नो गोलसंख्या ११ पुर्‍याएका थिए । त्यसैले जर्मनीविरुद्ध मैदान उत्रँदा पोर्चुगल रोनाल्डोको गोल गर्ने लयको निरन्तरता सँगै अन्तिम १६ मा स्थान पक्का गर्न चाहन्छ ।
 
पोर्चुगल ३ अंकका साथ शीर्ष स्थानमा छ भने फ्रान्स ३ अंकका साथ दोस्रो स्थानमा छ । अंकविहिन जर्मनी र हंगेरी क्रमश : तेस्रो र चौथो स्थानमा छन् ।

यता पहिलो खेलमा फ्रान्ससँग स्तब्ध भएको जर्मनी सामू भने नकआउट चरण प्रवेशको सम्भावना कायम राख्‍नका लागि पनि पोर्चुगलविरुद्ध जितको विकल्प छैन । जर्मनीले आत्मघाती गोल उपहार दिँदा पहिलो खेलमा फ्रान्स १-० ले विजयी भएको थियो । पोर्चुगलविरुद्धको हार वा बराबरीले जर्मनीको युरो २०२० यात्रा समूह चरणमा सीमित बन्‍न सक्छ । सन् २०१८ को रुस विश्‍वकपमा समुह चुरणबाटै बाहिरिएको जर्मनी युरो २०२० मा भने त्यही नियती दोहोरिएको हेर्न चाहदैन ।