स्पेनिस ला लिगा

रियालको कठिन जित

काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिडले कठिन जित निकालेको छ । बिहीबार राति भएको खेलमा १० खेलाडीमा सिमित रियालले अलाभेसलाई १–० ले हरायो ।

जितपछि रियाल शीर्ष स्थानमा फर्किएको छ । राति नै भएको अर्काे खेल शीर्ष स्थानको जिरोना रियाल बेटिससँग १–१ को बराबरीमा रोकिएपछि रियाल मड्रिड गोलअन्तरको आधारमा शीर्षस्थानमा फर्किएको हो ।

समान १८ खेलबाट रियाल र जिरोनाको समान ४५ अंक छ । तेस्रो स्थानका बार्सिलोनाको ३८ अंक रह्यो ।

खेलको ५५औं मिनेटमा रक्षक नाचोले खराब फाउल गरेपनि रातो कार्डको सामना गर्नुपर्याे । तर, थपिएको दुई मिनेटको इन्जुरी समयमा टोनी क्रुसको कर्नरमा लुकास भाजक्वेजको हेडर जाली चुमेको थियो ।