उपमेयर कप राष्ट्रिय महिला फुटबल

काठमाडौं महानगरपालिका र रोङ गाउँपालिका बराबर

काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा काठमाडौं महानगरपालिका र इलामको रोङ गाउँपालिकाले आइतबार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा रोङकी विमला बिक प्लेअर अफ दी म्याच बनिन् । उनले पाँच हजार रुपैंयासहित ट्रफी हात पारिन् ।

समूह ‘इ’ अन्तर्गत मंगलबार आफ्नो दोस्रो खेलमा रोङले हुम्लाको सिमकोट गाउँपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।

प्राविधिक कारणले असम्भव भएपछि शुक्रबार नै हुनुपर्ने काठमाडौं र सिमकोटबीचको खेल बिहीबार हुँदैछ । समूहको शीर्षस्थानमा रहने टोलीले नकआउट चरणमा स्थान बनाउनेछ ।

आजै चाँडोगरी भएको खेलमा समूह ‘डी’को शिवसताक्षी र समूह ‘सी’को बाँसगढी नगरपालिकाले नकआउट चरणमा स्थान सुरक्षित गरे ।

झापाको शिवसताक्षी नगरपालिकाले नवलपुरको देवचुली नगरपालिकालाई १–० ले हराउँदै नकआउट चरणमा स्थान सुरक्षित गरेको थियो । सोही समूहमा अंकको खाता खोल्न नसकेका देवचुली र जानकी नगरपालिका पहिलो चरणबाटै बाहिरिसकेका छन् ।

बर्दियाको बाँसगढी नगरपालिकाले स्याङ्जाको पुतलीबजार नगरपालिकालाई १८–० ले पराजित गर्दै नकआउट चरणमा स्थान पक्का गरेको थियो ।

बाँसगढीले दुई खेलबाट ६ अंक जोडेको छ । भने पुतलीबजार र भक्तपुर नगरपालिका समूह चरणबाटै बाहिरिसकेका छन् ।

प्रतियोगितामा सोमबार तीन खेल हुनेछन् । पहिलो खेल बिहान ९ बजे समूह ‘ए’ को महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाबीच हुनेछ । दोस्रो खेलमा कन्काइ नगरपालिका र बागमती नगरपालिकाबीच समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ । यस खेलको विजेता समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्नेछ ।

समान दुई खेल खेलेका झापाको कन्काइ र सर्लाहीको बागमतीले ६÷६ अंक जोडेका छन् । तेस्रो खेल दिउँसो ३ बजे समूह ‘बी’ अन्तर्गत कालिका नगरपालिका र ललितपुर महानगरपालिकाको हुनेछ । कालिका र ललितपुरले एक खेलबाट समान तीन अंक जोडेका छन् ।