उपमेयर कप राष्ट्रिय महिला फुटबल

शिवसताक्षी नकआउट चरणमा

काठमाडौं । शर्मिला राईको निर्णायक गोलमा झापाको शिवसताक्षी नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । 

आइतबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा शिवसताक्षीकी शर्मिलाले ३०औं मिनेटमा गरेको गोल नवलपुरको देवचुली नगरपालिकालाई पराजित गर्न पर्याप्त बन्यो ।

शिवसताक्षीकी शर्मिला प्लेअर अफ दी म्याच बन्दै पाँच हजार रुपैंयासहित ट्रफी हात पारिन् । 

समूह ‘डी’ अन्तर्गत शिवसताक्षीले दुई खेलबाट ६ अंक जोड्यो । देवचुली र  बाँकेको जानकी नगरपालिका समूह चरणबाट बाहिरिसकेका छन् । दुवै टोली अंकविहन बने ।

आजै भएको पहिलो खेलमा बर्दियाको बाँसगढी नगरपालिकाले स्याङ्जाको पुतलीबजार नगरपालिकामाथि १८-० ले हराउँदै नकआउट पुगिसकेको छ ।

 समूह ‘सी’ को बाँसगढीले दुई खेलबाट ६ अंक जोडेको छ भने पुतलीबजार र भक्तपुर नगरपालिका अंकविहीन हुँदै समूह चरणबाटै बाहिरिसकेका छन् । 

आजको अन्तिम खेल समूह ‘इ’ अन्तर्गत काठमाडौं महानगरपालिका र इलामको रोङ गाउँपालिकाको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।