पहिलो जितको खोजीमा युक्रेन र नर्थ मेसेडोनिया

बुखारेस्ट, (खेलाडी)- युक्रेन र नर्थ मेसेडोनिया दुवैले युरोपियन च्याम्पियनसिप (युरो २०२०) अन्तर्गत समूहको आफ्नो पहिलो खेलमा हार भोगेका थिए । त्यसैले आज राति नेपाली समयअनुसार पौने दश बजे बुखारेस्टको नेशनल एरिनामा एकअर्काविरुद्ध मैदान उत्रिँदा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । 

प्रतियोगिताको नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाउनका लागि दुवैलाई आज स्पष्‍ट जित आवश्यक छ । हार वा बराबरीको नतिजाले दुवै टोलीको प्रतियोगिता यात्रा समूह चरणमा सीमित बन्‍न सक्ने खतरा छ । समूहको पहिलो चरणको खेल सम्पन्‍न हुँदा अस्ट्रिया र नेदरल्यान्ड्सको समान ३ अंक छ भने युक्रेन र नर्थ मेसेडोनिया अंकविहन छन् ।

नेदरल्यान्ड्सविरुद्ध २-० ले पछि परेको अवस्थामा खेल बराबरीमा ल्याए पनि अन्तिममा युक्रेन ३-२ को नतिजा सुम्पिन बाध्य भएको थियो । नर्थ मेसेडोनियाविरुद्धको जितले युक्रेनको अन्तिम १६ प्रवेश सम्भावना जीवित राख्‍नेछ । नेदरल्यान्डस्विरुद्ध पूरा खेल अवधीभर दबाबमा रहेर खेलेको युक्रेनले नर्थ मासेडोनियविरुद्ध भने ५-३-२ को शैलीमा टोली उतार्ने अनुमान गरिएको छ ।

नर्थ मेसेडोनिया र युक्रेन ४ पटक आमने सामने भएका छन् । जसमध्ये तीन खेल युक्रेनको पक्षमा र एक खेल नर्थ मेसेडोनियो पक्षमा गएको इतिहास छ । पछिल्लो पटक यी दुई टोली सन् २०१५ मा युरो २०१६ को छनोटमा आमने सामने भएका थिए । जहाँ नर्थ मा्ेसेडोनिया २-० ले विजयी भएको थियो ।