नेदरल्यान्ड्स र अस्ट्रिया दुवैको एउटै लक्ष्य जित

एम्सटरडम, (खेलाडी)- नेदरल्यान्ड्स र अस्ट्रियाले युरोपियन च्याम्पियनसिप (युरो २०२०) मा विजयी सुरुआत गरिसकेका छन् । तर अघिल्लो चरण प्रवेशका लागि समूह ‘सी’मा हासिल गरेको एउटा जित दुवैका लागि पर्याप्त छैन । 

आज मध्यरातमा पौने एक बजे एम्सटरडम एरिनामा दुई टोली समूहको दोस्रो खेलका लागि आमने सामने हुँदा नेदरल्यान्ड्स र अस्ट्रिया दुवैको एउटै लक्ष्य हुनेछ, जित । 

सात वर्षपछि प्रमुख प्रतियोगितामा पुनरागमन गरेको फ्रयांक डि बोएरको टोली नेदरल्यान्ड्सले आफ्नो पुनरागमन फलदायी बनाउने क्रममा युक्रेनमाथि ३-२ को जित हात पारेको थियो । 

‘अस्ट्रिया उदाउँदो टोली हो,’ नेदरल्यान्डस्का प्रशिक्षक फ्रयांक डि बोएरले भने, ‘डेविड अलाबा, मार्कोे आर्नाटोभिच उत्कृष्‍ट खेलाडी हुन् । उनीहरुलाई रोक्न कठिन छ । समग्रमा अस्ट्रिया उत्कृष्‍ट खेलाडीहरुले भरिएको एउटा कठिन टोली हो । हामी उनीहरुको चुनौती पन्छाउँदै अन्तिम १६ प्रवेशको सम्भावना थप मजबुत पार्न चाहन्छौं ।’ 

अस्ट्रियाले पनि नर्थ मेसेडोनियाविरुद्ध हारको शृंखलामा पूर्णविराम लगाउदै प्रतियोगितामा उत्कृष्‍ट सुरुआत गरेको थियो । दोस्रो खेलमा पनि स्पष्‍ट ३ अंकका साथ अस्ट्रिया नकआउट चरण प्रवेशको सम्भावना बलियो पार्न चाहन्छ ।

‘एउटा कुरा स्पष्‍ट छ,’ अस्ट्रियाका प्रशिक्षक फ्रयांक्को फोडाले भने, ‘अन्तिम १६ प्रवेशका लागि हामीलाई अझै अंक आवश्यक छ । नेदरल्यान्डस् बलियो टोली हो । तर हाम्रो लक्ष्य विजयी यात्रालाई निरन्तरता दिनु हो ।’