नेपोलीको सहज जित, मस्कोलाई लेस्टरले हरायो

रोम, (खेलाडी) - नेपोलीले युरोपेली क्लब फुटबलको दोस्रो श्रेणीको प्रतियोगिता युरोपा लिगमा बिहीबार राति लेगिया वार्सामाथि ३-० को सहज जित निकालेको छ । 

डिएगो अर्मान्डो म्याराडोना रंगशालामा भएको खेलमा घरेलु टोली नेपोलीले खेलको अन्तिम २० मिनेटमा तीन गोल गरेको थियो । 

७६औं मिनेटमा लोरेन्जो इन्सिग्नेले गरेको गोलबाट नेपोलीले अग्रता लिएको थियो । ८०औं मिनेटमा भिक्टर ओस्मानले नापोलीको अग्रतालाई दोब्बर बनाए । 

इन्जुरी समयमा पोलिटानोले गोल गरेपछि नेपोलीले सहजै तीन अंक सुरक्षित गरेको हो । 

युरोपा लिगको समूह ‘सी’ मा रहेको नेपोलीले जितसँगै तीन खेलबाट चार अंक जोडेको छ । एकमा जित, एकमा बराबरी र एक खेलमा पराजित भएको नेपोली तालिकाको दोस्रो स्थानमा छ । 

यता लेगिया वार्सा भने हारपछि पनि ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा कायमै छ । तीन खेलमध्ये दुईमा विजयी भएको टोलीले एक हार भोगेको थियो । 

समूहमा बिहीबारै भएको अर्को खेलमा लेस्टर सिटीले स्पार्टक मस्कोमाथि ४-३ को प्रतिस्पर्धात्मक जित हासिल गर्यो । 

जितपछि लेस्टर चार अंकका साथ तेस्रो स्थानमा उक्लिँदा तीन अंकमा सीमित मस्को पुछारमा छ ।