रोमालाई उपाधि जिताउन प्रतिबद्ध माउरिन्हो 

रोम, (खेलाडी)- इटालियन सिरी ‘ए’को टोली एएस रोमाका प्रशिक्षक जोजे माउरिन्होले यस सिजन क्लबलाई उपाधि दिलाउन चाहेको बताएका छन् । 

६ अंकले नेपोलीभन्दा पछि रहेको रोमा लिग तालिकाको चौथो स्थानमा छ । 

‘म रोमालाई उपाधि दिलाउन चाहन्छु किनकि एउटा क्लब उपाधिसँग जीउँछ । रोमाले नजितेको धेरै भयो, अब चाँडै रोमाका लागि उपाधिहरु जित्नेछु,’ गत अप्रिलमा टोटनहमबाट रोमा सरुवा भएका माउरिन्होले भने । 

रोमाले सन् २००१ पछि सिरी ‘ए’ को उपाधि जित्न सकेको छैन । सन् २००८ मा टोली उपविजेता भएको थियो । 

माउरिन्होले उपाधि जित्नका लागि विशेष योजना बनाएर अगाडि बढ्ने बताए । उनले विगतमा दुई वर्ष इटालीमा बसेको र धेरै पटक रोमाविरुद्ध खेलेको समेत बताए । 

माउरिन्होले रोमा इटालीमा उपाधि जित्न सक्षम टोली भए पनि विभिन्न परिस्थितीका कारण पछिल्ला वर्षहरुमा त्यो सम्भव हुन नसकेको विचार राखे । 

‘मेरो विचारमा रोमा जितको हकदार टोली हो । हामीले रोमालाई हकलाग्दो उपाधिको खुसी दिलाउनका लागि योजनाबद्ध रुमपा काम गर्नुपर्नेछ,’ उनले भने, ‘म उपाधि जित्ने प्रतिबद्धताका साथ यहाँ आएको हुँ । म यहाँ फगत समय विताउनका लागि मात्र आएको पक्कै होइन ।’