इटालियन सिरी ‘ए’

युभेन्टसले सात लाख १८ हजार युरो जरिवाना तिर्नुपर्ने

काठमाडौं । खेलाडीको पारिश्रमिकमा भएको अनियमितताको विषयलाई टुंगो लगाउन सिरी ‘ए’ क्लब युभेन्टसले इटालियन फुटबल संघलाई सात लाख १८ हजार यूरो तिर्ने भएको छ ।

खेलाडी ट्रान्सफरका क्रममा पारिश्रमिकलाई लिएर भएको अनियमितताको आरोपमा संघले युभेन्टसको १० अंक कटौती गरेको थियो । युभेन्टसले उक्त कारवाहीलाई स्वीकार गर्नुका साथै जरिवाना तिर्ने भएपछि फेडेरेसनले थप कारवाही रोक्ने बिबीसीले जनाएको छ।

उक्त जरिवाना क्लबका कैयौ पदाधिकारी तथा पूर्व उपाध्यक्ष पाभेल नेदभेद तथा कार्यकारी निर्देशक फावियो पाराटिसीका लागि समेत भएको उल्लेख गरिएको छ ।

क्लबका पूर्व अध्यक्ष एन्ड्रिया एन्जेलीबारे भने थप सुनुवाइ जुन १५ मा हुनेछ ।

सुरुआतमा युभेन्टसको १५ अंक कटौती गरिएको थियो तर इटालीको सर्वोच्च खेलकुद अदालतले अप्रिलमा त्यो निर्णयलाई उल्टाउँदै मुद्दालाई पुनः जाँच गर्न आदेश दिएको थियो ।

पछिल्लो १०अंकको कटौतीसँगै  सिरी ‘ए’ मा सातौं स्थानमा झेरेको युभेन्टसले आगामी सिजन युइएफएका क्लबस्तरिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने भएको छ ।