महेन्द्र नारायण निधि ट्वान्टी-२० क्रिकेट प्रतियोगिता

लुम्बिनीले बागमतीलाई हरायो

फाइल फोटो

काठमाडौं । लुम्बिनीले दोश्रो संस्करणको महेन्द्र नारायण निधि ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशमाथि ४३ रनको सहज जित निकालेको छ ।

जनकपुरस्थित रामजानकी रंगशालामा बुधबार सम्पन्न पहिलो खेलमा लुम्बिनीले प्रस्तुत गरेको एक सय ५२ रनको लक्ष्य पछ्याएको बागमती १९.५ ओभरमा एक सय आठ रनमा समेटियो ।

बागमतीका लागि राजन ढकालले २०, शुभ कंशकारले १९ र आशोक पौडेलले १५ रन बनाए ।

लुम्बिनीका लागि अनिल खरेलले चार, निर्मल गुरुङ र कप्तान कृष्ण कार्कीले समान दुई तथा मोहम्मद हुसेनले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै एक सय ५१ रनको योगफल तयार पारेको थियो । लुम्बिनीका लागी देव खनालले ३७ बलमा चार चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ५१ रनकाे याेगदान गरे । यसैगरी प्रज्वल थापाले ४४ र बसिर अहमदले ३१ रन बनाए ।

बागमतीका लागि कप्तान इशान पाण्डेले दुई तथा रामनरेश गिरी र राजन ढकालले समान एक विकेट लिए ।

प्रतियोगितमा विजयी सुरुआत गरेको लुम्बिनीले दुई अंक जोडेको छ । पहिलो पराजय ब्यहोरेको बागमतीको पनि दुई खेलबाट दुई अंक छ । बागमतीले पहिलो खेलमा कोशीलाई तीन विकेटले पराजित गरेको थियो ।